बेपत्ता आफन्त फर्किने आस मरेपछि ‘कुशको शव’ बनाएर अन्त्येष्टि

बेपत्ता आफन्त फर्किने आस मरेपछि ‘कुशको शव’ बनाएर अन्त्येष्टि

कास्की : भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारले आश मार्न थालेका छन्।

लामो समयसम्म सास र लास दुवै नभेटिएपछि आफन्तहरूले ‘कुशको शव’ बनाएर धमाधम अन्तिम संस्कार गर्न थालेका हुन्।

पोखरा महानगरपालिका-५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोला काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत थिइन्।

भदौ ९ गते उनी अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। तर, त्यसको भोलिपल्टै आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ।

छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा र नुवाकोट पुगे। बाढीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा मारेको थिएन।

घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर नआएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गर्यो। बिहीबार पोखराको तुलसीघाटमा सृष्टिको कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए।

“भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन्। बिहान परिवारसँग कुराकानी भएको थियो, त्यसपछि कुनै सम्पर्क भएन”, गौतमले भने, “कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ। तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुग्यो।”

देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपमा गएकी सृष्टिको असामयिक निधनले परिवार र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए।

त्यसैगरी, भोटेकोशी बाढीमै बेपत्ता पोखरा महानगरपालिका-१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ। टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन थिए।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार, भोटेकोशी बाढीपछि पोखराका अझै १२ जनाको अवस्था अज्ञात छ। परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि बाध्य भएर अन्तिम संस्कार गर्न थालेका हुन्।

खोज्दा-खोज्दै थाकेपछि काजकिरिया
यसैबीच, गत भदौ १० गतेदेखि बेपत्ता लमजुङको बेँसीसहर नगरपालिका-११ का झपटबहादुर घर्ती (४५) र उनकी श्रीमती राधिका घर्ती (४३) को पनि बिहीबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।

उनीहरू रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरेको भतिज विशाल घर्तीले बताए।

“खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ। अब उपाय बाँकी रहेन, त्यसैले काजकिरिया सुरु गरेका हौँ,” उनले भने।

यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका-३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन। उनको पनि धार्मिक संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ। भण्डारी सब-इन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामै कार्यरत थिइन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार, भोटेकोशी बाढीमा लमजुङका १० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये फेला परेका तीन जनाको शव पहिचानका लागि डिएनए परीक्षण गर्न पठाइएको उनले जानकारी दिए।

असोज २, २०८३ शुक्रबार ०७:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।