नुवाकोटमा १८ सय बाढी प्रभावितले ‘होल्डिङ सेन्टर’ छाडे

नुवाकोटमा १८ सय बाढी प्रभावितले ‘होल्डिङ सेन्टर’ छाडे

नुवाकोट : गत भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापितहरू विस्तारै अस्थायी बसोबासतर्फ सर्न थालेका छन्।

बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो। प्रभावितलाई भाडाको कोठा लिएर बस्न पालिकाहरूले रकमको व्यवस्थापन गरेसँगै उनीहरूले होल्डिङ सेन्टर छाड्न थालेका हुन्।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार, भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरी १ हजार २९० जना प्रभावितलाई राखिएको थियो। भदौ २२ गतेसम्म आइपुग्दा यो सङ्ख्या बढेर २८ वटा सेन्टरमा २ हजार ६३७ जना पुगेका थिए।

तर, पछिल्लो समय आश्रयस्थलमा बस्नेको सङ्ख्या क्रमशः घट्दै गएको छ। बिहीबारसम्म जिल्लामा होल्डिङ सेन्टरको सङ्ख्या १६ मा झरेको र त्यहाँ ८३२ जना मात्र बसोबास गरिरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए। यसबीचमा १८ सय ५ जनाले होल्डिङ सेन्टर छाडेका छन्।

प्रजिअ रेग्मीका अनुसार, उद्धारपछि बेपत्ता आफन्तको खोजी र आश्रयस्थलको छोटो बसाइपछि प्रभावितहरू आफैँ अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन्। बेपत्ता भएकाहरू नभेटिएपछि अन्तिम संस्कारका काममा लाग्नुपरेकाले पनि सेन्टर छाड्नेको सङ्ख्या बढेको हो।

राहत र कोठाभाडा दिने पालिकाको घोषणा
होल्डिङ सेन्टरमा लामो समय बस्दा थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ। जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको यस नगरपालिकाले कोठा भाडाबापत मासिक १० हजार रुपैयाँ र आवश्यक बन्दोबस्तीका सामग्री प्रदान गर्ने निर्णय गरेको छ।

नगरप्रमुख राजन श्रेष्ठका अनुसार, कोठामा सर्न चाहने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा र सरसफाइका अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णयपछि आश्रयस्थल छाड्नेको सङ्ख्या बढेको हो।

‘बाढी प्रभावितहरू कोठा लिएर बस्न थाल्नुभएको छ। पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको सङ्ख्या बढ्दो छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम १५ हजार रुपैयाँ दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम भने दिन बाँकी छ।’

३१ प्रतिशत प्रभावितलाई अस्थायी आवासको आवश्यकता
सबै प्रभावितहरू कोठा भाडामा लिएर बस्न सक्ने अवस्थामा छैनन्। भाडामा बस्न नचाहने वा नसक्ने विस्थापित परिवारका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी सरकारले गरिरहेको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकाहरूसँग प्रश्नावलीमार्फत आवश्यकता पहिचान गरिरहेको छ। आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार, रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने २ हजार २७ परिवारको विवरण सङ्कलन गरिएको छ।

यसमध्ये करिब ३१ प्रतिशतले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन्। ‘सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्’, आयोजना प्रमुख घिमिरेले भने।

बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित हाल नुवाकोटमा बसोबास गरिरहेका छन्। उनीहरूसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना निर्माण गरिदिए जीवनयापन सहज हुने उनीहरूको माग छ।

असोज २, २०८३ शुक्रबार ०७:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।