कांग्रेसको विभाजनसँगै अन्य दलमा फुट र देशमा अकल्पनीय रणसंग्रामको खतरा

कांग्रेसको विभाजनसँगै अन्य दलमा फुट र देशमा अकल्पनीय रणसंग्रामको खतरा

काठमाडौं : नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन रोक्न १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी पूर्व सभापति शेरबहादुर देउवासहितका अग्रज नेताहरूसँग संवाद थाल्न विशेष सभापति गगन थापालाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापालाई विशेष आग्रह तथा सुझाव दिँदै उनले दुई अलग-अलग महाधिवेशन हुने स्थिति बनेमा पार्टी विभाजन निश्चित रहेको धारणा राखे। संस्थापन इतर पक्षका माग सम्बोधन गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णय गत वैशाख २१ गते भएको संवादलगत्तै लिएको भए जेठको पहिलो साताभित्रै सानेपास्थित केन्द्रीय कार्यालयमा थापाकै नेतृत्वमा सिंगो पार्टी एकताबद्ध भइसक्ने उनले स्मरण गरे।

विगतको निर्मम समीक्षा गरी पुनः कठोर संकल्प लिन आग्रह गर्दै खड्काले एकताको प्रक्रियामा कानुन, अदालतको निर्णय वा पार्टी विधानले कुनै अप्ठ्यारो नपार्ने दाबी गरे। थापालाई आग्रह गर्दै उनले भने, "तपाईंले ब्यहोरेका सल्लाह, सुझाव र विगतका घटनाक्रम लाई गहिरो शिक्षाका रूपमा निर्मम समीक्षा गर्दै तत्काल निर्णायक र साहसिक कदम चाल्नुस्, अनि सम्पूर्ण एकताको सिङ्गो कांग्रेसको सभापति बन्नुस्!"

कांग्रेस विभाजन भएमा त्यसको असर अन्य दलहरूमा समेत पर्ने खड्काको विश्लेषण छ। उनले लेखेका छन्, "कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुनेछन्।" 

दलहरू विभाजन हुँदाको परिणाम देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको जोखिम बढ्ने तथा राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि नै खतरा उत्पन्न हुनसक्ने आशंका उनले व्यक्त गरे।

उनले भने, "किन हो किन हो ? मेरो अन्तरआत्माले भनी रहेको छ-  देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिने छ- मच्चाइने छ र हाम्रो प्यारो देश भाद्र २४ लाई पनि बिर्साउने गरी भीषण रणसंग्रामकाे दुष्चक्रमा परिणत हुने प्रबल-प्रबल सम्भावनातिर उन्मुख देखिन्छ, त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ?"

पार्टी एकताको प्रयासमा आफू व्यक्तिगत महत्त्वाकांक्षाबाट मुक्त रहेको उल्लेख गर्दै खड्काले जुनसुकै त्याग गर्न र इमानदार सहयोग पुर्याउन तयार रहेको बताए। साथै, अन्तमा उनले आफ्नो विश्लेषण र आशंका गलत साबित भए सबैभन्दा बढी खुसी आफैँ हुने उल्लेख पनि गरेका छन्।

असोज १, २०८३ बिहीबार १९:२२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।