दुवै महाधिवेशन रोक्न आग्रह गर्दै शेखरले भने : ‘कांग्रेसको पटकथा कहाँबाट लेखिँदैछ, थाहा छैन’
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र दुवै पक्षले अघि बढाएको महाधिवेशनका प्रक्रिया रोकेर मध्यमार्गी समझदारी खोज्न अपिल गरेका छन्। बिहीबार एक अपिल जारी गरेर उनले पार्टीलाई विभाजनको बाटोतर्फ डोर्याइरहेका दुई छुट्टाछुट्टै दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुर्याउने बताए।
नेताहरू सहमति र सहकार्यको बाटो नहिँडे मुलुककै भविष्य र अस्तित्व संकटमा पर्ने उल्लेख गर्दै उनले पार्टीलाई दुर्घटनाबाट जोगाउन घोषित दुई महाधिवेशन रोकेर मध्यमार्गी र समझदारीको बाटो रोज्नु पर्ने बताए।
पार्टी अहिले मानसिक रूपमा कमजोर, विभाजित र ‘समुद्रमा गन्तव्य हराएको माझी’ जस्तै अवस्थामा पुगेको उनको टिप्पणी छ। कांग्रेसको ‘पटकथा’ कहाँबाट र कसले लेखिरहेको छ भन्ने प्रश्न उठाउँदै उनले वर्तमान अन्योलले कार्यकर्ता पङ्क्तिमा पीडा पुगेको बताए।
"दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्, मलाई थाहा छैन," उनले भने, "मलाई यसबाट पिडा छ र मेरो पिडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस भन्ने चाहन्छन्।"
पार्टीका आफ्नै सहकर्मीहरूमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर सङ्गठनको महल बनाउन नसकिने भन्दै डा. कोइरालाले आन्तरिक विभाजनबाट आफू रोमाञ्चित हुन नसक्ने बताए। उनले भने, "म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन। म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिन।"
आफूमाथि विभिन्न आरोपहरू लागे पनि मध्यमार्ग नै सत्यको बाटो र कांग्रेसको वास्तविक जीवनदर्शन भएको उनको भनाइ छ। डा. कोइरालाले जस्तोसुकै परिस्थितिमा पनि देशको लोकतन्त्र र कांग्रेसको सफलताका लागि आफू मध्यमार्गी समझदारीको पक्षमा एक सिपाहीका रूपमा निरन्तर लागिरहने बताए।
उनले भने, "कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक् छ।"
असोज १, २०८३ बिहीबार १५:११:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।