ग्यास अभावमा एमालेलाई जोडेको भन्दै आक्रोशित सांसद बरालको प्रश्न– ‘मिडियामा यस्ता समाचार लेखाउने सरकारका माननीयज्यू को हुन्?’

ग्यास अभावमा एमालेलाई जोडेको भन्दै आक्रोशित सांसद बरालको प्रश्न– ‘मिडियामा यस्ता समाचार लेखाउने सरकारका माननीयज्यू को हुन्?’

काठमाडौं : एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा एमालेले ग्यास लुकाएको भन्दै समाचार सम्प्रेषण गर्ने सम्बन्धित निकायमाथि आपत्ति जनाउँदै कारबाहीको माग गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले बजारमा देखिएको ग्यास अभावको दोष एमालेमाथि थुपारेर भ्रामक प्रचार गरिएको आरोप लगाइन्।

सदनमा बोल्दै सांसद बरालले भनिन्, “बजारमा एमालेले ग्यास लुकाएर हामी ग्यास बजारमा अलपत्र भयौँ, हामीले पाएनौँ भनेर लेख्ने मिडिया या लेखाउने सरकार सम्बन्धित यहाँका माननीयज्यू को हो?”

उनले यदि एमालेले ग्यास लुकाएको भए कारबाही गर्न र नभए त्यस्तो समाचार लेख्ने मिडिया तथा सम्बन्धित निकायमाथि कारबाही गर्न माग समेत गरिन्।

सांसद बरालले बजारमा ग्यासको तीव्र अभाव र महँगी बढेका कारण सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको बताइन्। जनताले आफूहरूसँग ग्यास मिलाइदिन गुहार माग्ने स्थिति आएको उल्लेख गर्दै उनले भनिन्, “जनता दिनका दिन रोइरहेका छन्। ‘ग्यास छैन दिदी, हामीलाई एउटा ग्यास मिलाइदिनुस् न’ भन्छन्। सरकारलाई ध्यान छ कि छैन? जनता भोकमरीमा पर्न थाले।”

उनले विगतको सरकारको नैतिकतामाथि प्रश्न उठाउने वर्तमान सरकारले अहिले जनताले भोगिरहेको समस्याको पूर्ण जिम्मेवारी लिनुपर्ने बताइन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै उनले जनतालाई ग्यास अभाव र भोकमरीको अवस्थामा नपुर्याउन आग्रह गरिन्।

"मलाई भन्न मन छैन, अहिले पनि जिउ काँपिरहेको छ। किनभन्दा जनता भोकले मर्न लागिसके। सरकार ग्यास च्याम्बरमा हैन, भोकमरीमा नपार," उनले भनिन्।

बजारमा ग्यास अभाव हुनुको कारणबारे सरकारले तत्काल संसद्‌मा स्पष्ट पार्नुपर्ने माग सांसद बरालले राखिन्। उनले सभामुखमार्फत सरकारलाई एक हप्ताभित्र स्पष्टीकरण र समाधानका लागि निर्देशन दिन आग्रह गरिन्।

“सभामुखज्यूले एक हप्ताभित्र सरकारलाई के समस्या हो, किन समस्या हो, बजारमा जनताहरू किन भोकमरीमा छन्, किन समस्यामा छन् भनेर निर्देशन दिनका लागि म सभामुखज्यूलाई आग्रह गर्दछु,” उनले भनिन्।

असोज १, २०८३ बिहीबार १४:३९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।