नेपाल-जापान सम्बन्धको ७०औं वर्षगाँठ, काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने
काठमाडौं : नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा आगामी २०८३ मङ्सिर ६ गते काठमाडौंको दरबारमार्गमा ‘नेपाल-जापान महोत्सव २०२६’ आयोजना हुने भएको छ।
‘नेपाल-जापान महोत्सव २०२६ कार्यकारी समिति’ को आयोजनामा हुन लागेको यस महोत्सवको मूल नारा ‘संस्कृति मार्फत ऐक्यबद्धता’ राखिएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा प्रख्यात जापानी ब्यान्ड ‘गोडिगो’को विशेष साङ्गीतिक प्रस्तुति रहनेछ।
सन् १९८० मा दशरथ रङ्गशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि यो ब्यान्ड पुनः नेपाल आउन लागेको हो। यसका साथै कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति र दुवै देशका सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक प्रदर्शनीहरू रहनेछन्।
हालै भोटेकोशी नदीमा आएको बाढीको विपद्लाई दृष्टिगत गर्दै कार्यक्रमको आवश्यक खर्च कटाएर बचत हुने सम्पूर्ण रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा प्रदान गरिने आयोजकले जनाएको छ।
यस महोत्सवले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
असोज १, २०८३ बिहीबार ११:१०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।