तीन दिने भ्रमणका लागि भारत उडे अर्थमन्त्री वाग्ले

तीन दिने भ्रमणका लागि भारत उडे अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि आज बिहान भारतको नयाँदिल्ली उडेका छन्।

 

भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७:३५ बजेको नियमित उडानमार्फत नयाँदिल्लीतर्फ लागेका हुन्।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विविध आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमण तालिका अनुसार अर्थमन्त्री डा. वाग्लेले आज साँझ ५ बजे भारतीय समकक्षी (अर्थमन्त्री) निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

त्यस्तै, शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवादमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग शिष्टाचार भेट तथा साँझ ७:३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठन (आईटीपीओ) का अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यसूची छ।

शनिबार बिहान ९:३० बजे भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गर्ने प्रतिष्ठित उद्योगी-व्यवसायीहरूसँगको छलफलमा उनले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

सोही दिन बिहान ११:३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिबारे आयोजित प्राज्ञिक अन्तरक्रियामा सहभागी भएर अर्थमन्त्री डा. वाग्ले साँझ ४ बजे स्वदेश फर्किनेछन्।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र मिनिस्टर (इकोनोमिक) तारानाथ अधिकारी पनि टोलीमा संलग्न हुनेछन्।

असोज १, २०८३ बिहीबार ०९:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।