१८ दिनपछि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन
चितवन : बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा १८ दिनपछि आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि यो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडकको करिब १०० मिटर भाग भासिएपछि गत भदौ १८ गतेदेखि भित्ताको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो।
नागढुङ्गा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माण सम्पन्न गरी आज बिहानदेखि दुईतर्फी रूपमै नियमित यातायात सञ्चालनमा ल्याइएको हो। यसअघिका दुई दिन भने रोकिएका सवारीसाधनलाई साँझको समयमा मात्र पास गराइएको थियो।
कृष्णभीरमा सडक खुलेलगत्तै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम तत्कालका लागि रोकिएको छ।
रोकिएका सवारीसाधनलाई सहज रूपमा गन्तव्यतर्फ पठाउन तुइन खोलामा सवारी रोकेर गरिँदै आएको काम स्थगित गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने यो मुख्य राजमार्ग लामो समय अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौंमा एलपी ग्यास लगायत अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको थियो।
ठूला मालवाहक सवारीसाधन कृष्णभीरमै रोकिएका कारण आपूर्ति व्यवस्था प्रभावित बनेको थियो।
गत भदौ १० गते भोटेकोशी र १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको थियो।
अन्य स्थानको अवरोध यसअघि नै हटाइए पनि कृष्णभीरमा सडकको जग नै बगेकाले नयाँ ट्र्याक बनाउन समय लागेको आयोजनाले जनाएको छ।
असोज १, २०८३ बिहीबार ०७:१३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।