सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछिको खोजी, उद्धार, राहत तथा पुनर्निर्माणको काममा सरकारका सबै संयन्त्रहरू युद्धस्तरमा खटिएको बताएका छन्।
बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै लामिछानेले प्रधानमन्त्री स्वयम् प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा रहेर अवस्थाको मूल्याङ्कन गरिरहेको र यसले सरकारको उच्च संवेदनशीलता झल्काएको उल्लेख गरे।
उनले भने, "प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजो भर्खर स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनुभएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो।"
सभापति लामिछानेले हिजोको तुलनामा आज सरकार र राजनीतिक दलको कार्यविभाजन स्पष्ट रहेकाले काममा कुनै दोहोरोपन नभएको दाबी गरे।
"हामी त काम बाँडफाँड गरेर गर्छौँ। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईंले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो जस पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने एउटा परिपाटी त्यो किसिमको परिस्थिति थियो। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन," उनले भने।
भोटेकोशी बाढीको प्रकृति निकै जटिल र अनुसन्धानयोग्य रहेकाले विज्ञहरूको टोलीमार्फत अध्ययन गरी वास्तविक कारणबारे चाँडै सार्वजनिक गर्न सरकारलाई सुझाव दिइएको उनले जानकारी दिए। सरकारले सुरुमा खोजी तथा उद्धारमा जोड दिएको र अहिले राहत तथा पुनःस्थापनाको काम अघि बढिरहेको लामिछानेको भनाइ छ। पुनःस्थापना र पुनर्निर्माणको काम लामो चरण भएकाले सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजना निर्माणदेखि फिल्डसम्म सक्रिय रहेको उनले बताए ।
उनले भने, "अब पुनःस्थापन, पुनर्निर्माणको एउटा लामो चरण बाँकी छ। त्यसमा पनि सम्बन्धित मन्त्रालयहरू, विभागहरू, प्राधिकरणहरू सबैजना एक्टिभ भएर कोही योजना बनाइरहेका छन्, कोही फिल्डमा छन्। त्यसकारणले हरेक दिन, हरेक ठाउँमा बैठक गर्नेहरूले बैठक, निर्णय गर्नेहरूले निर्णय, पुग्नुपर्नेहरू पुगिरहनुभएको छ। नीतिगत काम पनि र फिल्डमा गर्ने कामहरू सबै निरन्तर एकदमै यो युद्धस्तरमा भन्दा फरक पर्दैन होला, त्यसरी काम भइरहेको छ।"
यसैक्रममा, आफ्नै पार्टीका नेताहरूबीच सरकारको कामलाई लिएर भइरहेको आलोचनाबारे टिप्पणी गर्दै लामिछानेले त्यसलाई रास्वपाभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरे। फरक-फरक व्यक्तिको अभिव्यक्ति शैली फरक हुनु स्वभाविक रहेको र पार्टीभित्र कुनै पनि असमझदारी नरहेको दाबी गर्दै उनले लोकतान्त्रिक दलमा आलोचना हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।
उनले भने, "कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ अलि बढी, कम–बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने, आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने, एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही, पनि मान्छेको शैली पनि त हुन्छ नि।"
भदौ ३१, २०८३ बुधबार १६:५४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।