प्रधानमन्त्री बालेन्द्र शाहसँग अमेरिकी कार्यवाहक राजदूतको भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

प्रधानमन्त्री बालेन्द्र शाहसँग अमेरिकी कार्यवाहक राजदूतको भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बाढीपहिरोले पुर्याएको क्षति, राहत तथा पुनर्निर्माण, जलवायु परिवर्तन र द्विपक्षीय लगानीका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।

उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको पूर्ण ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।

सो अवसरमा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा अमेरिकी सरकारबाट प्राप्त सद्भाव, ऐक्यबद्धता र सहयोगका लागि हार्दिक आभार व्यक्त गरे।

बाढीपहिरोबाट नेपालीसँगै नेपाल भ्रमणमा रहेका विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो विपत्ति जलवायु परिवर्तनको प्रत्यक्ष असर भएको बताए।

उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको असर सम्बोधनका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

यसैगरी, भेटवार्तामा नेपालको पर्यटन क्षेत्रको सम्भावना र पारस्परिक हितका विषयमा पनि कुराकानी भएको थियो। पर्यटन क्षेत्रको विकासमार्फत दुवै देशले लाभ लिन सक्ने अवसर रहेको चर्चा गर्दै प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीको सधैँ स्वागत गरिने स्पष्ट पारे।

भदौ ३१, २०८३ बुधबार १३:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।