सङ्घीय संसद्का दुवै सदन र तीन संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै तीनवटा विषयगत समितिको बैठक आज बस्दैछ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।
यसैगरी, राष्ट्रियसभा बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
सोही बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नेछन्।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
दुई सदनबाहेक आज तीनवटा संसदीय समितिका बैठक पनि बस्दै छन्।
संसद् सचिवालयका अनुसार अर्थ समिति; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक आज बस्न लागेको हो।
भदौ ३१, २०८३ बुधबार ०९:१४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।