अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान, ‘सबैलाई समेट्न अधिकतम प्रयास गर्‍यौ’

अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान, ‘सबैलाई समेट्न अधिकतम प्रयास गर्‍यौ’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन आह्वान गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गरेर थापाले नेपालको संविधान, कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न पार्टीले अधिकतम प्रयास गरेको उल्लेख गरे।

उनले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक रहेको भन्दै पार्टीभित्रका आन्तरिक मतभेद र असमझदारीलाई संवाद, विधि तथा पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए। कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको उनले बताए। 

थापाले वर्तमान कार्यसमितिले पटक पटक संवादमार्फत सहमतिका सबै विकल्प स्वीकार गरी सबैलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने प्रयास गरेको उल्लेख गरे। उनले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राखी २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको बताए।

विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय यही भदौ २८ गतेको कार्यसम्पादन समितिको बैठकले गरिसकेको भन्दै थापाले तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य  १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा सहभागी हुनसक्ने स्पष्ट पारे।

महाधिवेशन मार्फत सामूहिक प्रयासबाट पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै उनले राष्ट्रका चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। थापाले वडा तहदेखि केन्द्रसम्मको महाधिवेशन अभियानमा उच्च मनोबलका साथ सहभागी हुन सम्पूर्ण कांग्रेसजनलाई आग्रह गरे।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन लागेको छ। थापाले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्न अपिल गरे। 

भदौ ३०, २०८३ मंगलबार २१:४६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।