काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको गाडी दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक गाडी दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०७२० नम्बरको गाडी हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डअन्तर्गत दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउने चारै जना पुरुष रहेका छन्। घाइते भएका दुई महिला र दुई पुरुषलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको छ।
गाडीमा चालकसहित आठ जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी खानीखेतबाट ट्राफिकसहित २१ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो।
भदौ ३०, २०८३ मंगलबार १९:४७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।