मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते
हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौंबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको गाडी आज दिउँसो २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ। घाइते दुई पुरुष र दुई महिलामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको छ। गाडीमा चालकसहित आठ जना सवार थिए।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए।
भदौ ३०, २०८३ मंगलबार १७:२७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।