हातहतियार लुकाएको सूचनापछि प्रहरीको छापा, कटुवा पेस्तोल भेटिएपछि दुई जना पक्राउ
काठमाडौं : रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नारायणपुरबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने छर्रासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्थानीय २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन्। धवलको घरमा अवैध हातहतियार लुकाइछिपाइ राखिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
हातहतियार लुकाएर राखेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार धवलको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लुकाएर राखिएको अवस्थामा भेटिएका एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २५ राउन्ड छर्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
हातहतियारसहित पक्राउ परेका धवल र केवट दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ ३०, २०८३ मंगलबार १६:४४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।