दुई लाख घूस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध मुद्दा

दुई लाख घूस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध मुद्दा

काठमाडौं : कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

तोकिए बमोजिमको थप सेवा-सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने भनेर बार्गेनिङ गरी दुई लाख रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मंगलबार मुद्दा दायर गर्यो। 

बमले सेवा-सुविधा उपलब्ध गराउन बार्गेनिङ गरी घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

विद्यालय व्यवस्थापन समिति सदस्य बमले आफ्नो पदीय हैसियतमा रही बदनियत पूर्ण तवरले निर्णय गरिदिने बहानामा दुई लाख रुपैयाँ घूस लिएको देखिएको अख्तियारले जनाएको छ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको निष्कर्ष निकाल्दै अख्तियारले दुई लाख रुपैयाँ बिगो कायम गरेर कैद सजाय र जरिवानाको मागदाबी गरेको छ। 

भदौ ३०, २०८३ मंगलबार १६:३२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।