धनुषामा अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ
जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका–६ तीनकोरियाबाट अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै बालकको उद्धार र घटनाबारे जानकारी दिएको हो।
कमलेश महतोका १५ महिने छोरा सिद्धान्त गत भदौ २८ गते साँझ करिब ४:४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। घटनाको सूचना पाउनासाथ तालिमप्राप्त कुकुरसहित खटिएको प्रहरीको विशेष टोलीले निरन्तर खोजतलास र अनुसन्धान अघि बढाएको थियो। प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, अपहरणकारीले बालकलाई नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको खुलेको थियो।
निरन्तरको निगरानी र घेराबन्दी पछि सोमबार दिउँसो करिब ३:३५ बजे बिदेह नगरपालिका–१ स्थित सीमावर्ती दशगज्जा क्षेत्र नजिकैबाट बालकको उद्धार गरिएको हो। बालकलाई उनको घरभन्दा ३०० मिटर दक्षिण सडकछेउको झाडीमा छाडेर भाग्दै गरेको अवस्थामा धनुषाकै कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई प्रहरीले पक्राउ गरेको छ।
सकुशल उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। पक्राउ परेकी पासवानमाथि अपहरण, शरीर बन्धक, तथा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ ३०, २०८३ मंगलबार १३:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।