गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाउने ११ जना पक्राउ, १० लाख नगदसहित क्वाईन बरामद

गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाउने ११ जना पक्राउ, १० लाख नगदसहित क्वाईन बरामद

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठस्थित ‘गरुड क्यासिनो’ मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

बुढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित क्यासिनोभित्र गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले गएराति करिब २ बजे छापा मारेको थियो।

छापा मार्ने क्रममा प्रहरीले जुवाको खालबाट १० लाख ८५ हजार ६०० रुपैयाँ नगद, ९ थान मोबाइल फोन र जुवा खेल्न नगद सटही गरिएका विभिन्न दरका क्वाईनहरू बरामद गरेको छ।

प्रहरीले ५० हजार रुपैयाँ दरका ८ थान, १० हजार रुपैयाँ दरका १९ थान, एक हजार रुपैयाँ दरका ८८ थान अनि १ सय रुपैयाँ दरका ५ थान क्वाईनहरू बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा विक्की लामा (रामेछाप), नुवाङ शेर्पा र पासाङ शेर्पा (सोलुखुम्बु), ज्योती मगर (सिन्धुली), नारायण खत्री (दोलखा), दिल लामा (काठमाडौँ), अशोक लामा (काभ्रे), सञ्जय तामाङ (नुवाकोट), आशिष खड्का (रामेछाप), सबिनमान श्रेष्ठ (ललितपुर) र सुदीप अधिकारी (धनकुटा) रहेका छन्।

नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

पक्राउ परेका सबैजनामाथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए।

भदौ ३०, २०८३ मंगलबार ११:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।