सिंहदरबारबाट पक्राउ परेका किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध नौ करोड बढीका १० मुद्दा

सिंहदरबारबाट पक्राउ परेका किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध नौ करोड बढीका १० मुद्दा

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध ९ करोडभन्दा बढी बिगो भएका १० मुद्दा रहेको पाइएको छ।

बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले सोमबार दिउँसो काठमाडौं महानगरपालिका-२९ स्थित हनुमानथानबाट नियन्त्रणमा लिएको हो।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले सिंहदरबारमा राखेको छलफल कार्यक्रममा सहभागी भएर निस्कने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अरुण अर्यालको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) जाँच गर्दा विभिन्न प्रहरी कार्यालयहरूमा बैंकिङ कसुर र ठगीसम्बन्धी कुल १० वटा मुद्दा दर्ता रहेको खुलेको छ।

प्रहरीको अभिलेखअनुसार तामाङविरुद्ध दर्ता भएका १० वटा मुद्दामध्ये खुलाइएका ९ वटा मुद्दाको कुल बिगो रकम ९ करोड ८ लाख ३५ हजार रुपैयाँ देखिएको छ। एक मुद्दाको बिगो खुल्न बाँकी छ।

नुवाकोटको किस्पाङ-३ घर भई हाल काठमाडौंको नयाँबजार बस्दै आएका तामाङ विसं २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार पक्राउ परेका तामाङमाथि अदालतबाट म्याद थप गरी सबै मुद्दाहरूमा विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

भदौ ३०, २०८३ मंगलबार ११:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।