भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा, १४३ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा, १४३ अझै सम्पर्कविहीन

धनगढी :  बाढीका कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका नागरिकमध्ये ७१ जना सम्पर्कमा आएका छन् भने १४३ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीमा परेर प्रदेशका एक जनाको भने मृत्यु भएको पुष्टि भएको छ।

प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार गत भदौ १० गतेको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका नागरिकहरू सम्पर्कविहीन भएको भन्दै परिवारजनले खोजतलासका लागि निवेदन दिएका थिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् शाखाका प्रमुख जनक धामीका अनुसार सम्पर्कमा आएका ७१ जनामा ११ महिला र ६० पुरुष छन्। अझै सम्पर्कविहीन रहेका १४३ जनामा १३ महिला र १३० पुरुष रहेका छन्।

कैलालीका सबैभन्दा धेरै बेपत्ता
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै कैलालीका ६७ जना अझै सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आइसकेका छन्। यस्तै, कञ्चनपुरका २६ सम्पर्कविहीन र ११ सम्पर्कमा, डडेलधुराका १७ सम्पर्कविहीन र ६ सम्पर्कमा तथा डोटीका दुई सम्पर्कविहीन र एक जना सम्पर्कमा आएका छन्।

यसैगरी बाजुराका १६, बैतडीका सात, दार्चुलाका चार तथा बझाङ र अछामका दुई-दुई जना अझै सम्पर्कविहीन रहेको केन्द्रले जनाएको छ। बाढीमा ज्यान गुमाएका बैतडीका एक व्यक्तिको भने शव पहिचान भई आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन्।

आफ्ना मान्छेहरू लामो समयदेखि सम्पर्कमा नआएपछि चिन्तित बनेका परिवारजनले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइदिन सरकारसँग आग्रह गरेका छन्।

भदौ ३०, २०८३ मंगलबार ०९:११:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।