कृष्णभीरमा असोज १ गतेदेखि यातायात खुलाइने
नारायणगढ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेर सडक अवरुद्ध भएपछि थालिएको नयाँ ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
निर्माण तीव्र पारिएसँगै आगामी असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी परीक्षणका रूपमा केही सवारीसाधन आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी सञ्चालनका लागि बाँकी कामलाई तीव्रता दिइएको हो।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।
"थप पहिरो नआए असोज १ गतेदेखि नै पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ", उनले भने।
उनका अनुसार सुरुवाती चरणमा ११–१२ वटा उपकरण परिचालन गरिएकामा अहिले अन्तिम कामका लागि ४० देखि ५० जना मजदुर खटाइएको छ। हाल ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच-छ वटा भारी उपकरण प्रयोग भइरहेका छन्।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडा सडक र नालीसहित साढे सात मिटरको संरचना तयार गरिएको छ।
हाल नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ भने सब–बेसको अन्तिम तह र ड्रेन निर्माण सकिएपछि सडक हस्तान्तरणयोग्य हुनेछ।
यसैबीच, नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले आइतबार परीक्षण मात्र गरिएकाले अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको स्पष्ट पारेका छन्।
"सर्वसाधारण सडक खुलिसकेको भ्रममा नपर्नुहोला, हिजो परीक्षणका लागि मात्र केही सवारी पास गराइएको हो," मिश्रले भने, "कुनै थप अवरोध नआए असोज १ गतेदेखि मात्र नियमित रूपमा सवारीसाधन सञ्चालन गरिनेछ।"
भदौ ३०, २०८३ मंगलबार ०८:०५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।