कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली र तराईमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यस्तै, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू-भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको आँकलन गरिएको छ। रातिको समयमा कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भदौ ३०, २०८३ मंगलबार ०७:२१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।