पार्टी प्रवेशसँगै उज्यालो नेपालको महासचिव बने दिवाकर अर्याल

पार्टी प्रवेशसँगै उज्यालो नेपालको महासचिव बने दिवाकर अर्याल

काठमाडौं : युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार अध्यक्ष कुलमान घिसिङले सोमबार दिवाकरलाई पार्टी प्रवेश गराउँदै उक्त जिम्मेवारी सुम्पिए।

उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन्। नवप्रवेशहरूलाई स्वागत गर्दै अध्यक्ष घिसिङले युवाहरूको अनुभव र क्षमतालाई मूल्याङ्कन गरेर जिम्मेवारी दिइएको बताए।

को हुन् दिवाकर ?
युवा अभियान तथा सामाजिक क्षेत्रबाट दलीय राजनीतिमा प्रवेश गरेका दिवाकर धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलाका बासिन्दा हुन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी एक सूचना प्रविधि (आइटी) कम्पनी सञ्चालक हुन्।

युवा नेतृत्व विकासको क्षेत्रमा पहिचान बनाएका उनले प्लस-टु अध्ययनकै क्रममा युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउन ‘मिनी संसद्’को अवधारणा ल्याएका थिए। सोही क्रममा २०६८ सालको अन्त्यतिर उनले ‘युथ पार्लियामेन्ट नेपाल’ दर्ता गरे।

पहिलो संविधानसभाले उनको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन भएको थियो। उक्त अभ्यासबाट तयार पारिएको नमुना संविधान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हस्तान्तरण गरिएको थियो।

नेपालमा सुरु भएको युवा अभियानलाई उनले ‘ग्लोबल युथ पार्लियामेन्ट’मार्फत अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरे। सन् २०२४ सम्म यसमा ८६ देशका २१ सयभन्दा बढी युवा आबद्ध भइसकेका छन् भने ८० भन्दा बढी देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरेको जनाइएको छ। 

युवा सशक्तीकरण र सामाजिक क्षेत्रमा योगदान पुर्याएको सम्मानमा २०७९ सालमा उनलाई नेपाल सरकारले ‘समाजसेवा रत्न’बाट विभूषित गरेको थियो। त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले उनलाई २०८० सालमा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरेको थियो।

सुशासन, प्रणालीगत सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिक केन्द्रित सेवा प्रवाहलाई एजेन्डा बनाएको पार्टीको महासचिव बनेसँगै दिवाकरको भूमिका सामाजिक अभियानबाट नीति निर्माण र दलीय राजनीतिको मूलधारमा रूपान्तरण भएको उज्यालो नेपालले जनाएको छ।  

भदौ २९, २०८३ सोमबार १९:४७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।