आइसीयूभित्रै 'इनसाइड द बङ्कर'को सुटिङबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

आइसीयूभित्रै 'इनसाइड द बङ्कर'को सुटिङबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं : नेपाली सेनाको छाउनीस्थित अस्पतालको आइसीयुमा उपचाररत त्रिशूली ‘थ्री ए’बाट उद्धार गरिएका दुई घाइतेको आइसीयु कक्षभित्रै पुगेर अन्तर्वार्ता लिई ‘इनसाइड द बङ्कर’युट्युब च्यानलमार्फत प्रसारण गरिएको विषयप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ।

पत्रकार आचारसंहिताको परिधिभित्र रहेर उक्त विषयमा थप अध्ययन तथा अनुगमन सुरु गरेको जानकारी दिँदै काउन्सिलले सोमबार सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको जनायो।

काउन्सिलका सह प्रवक्ता रामशरण बोहराले रसुवाको बाढीमा त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका घाइतेहरूसँग अस्पतालको आइसीयुमै पुगेर अन्तर्वार्ता लिई ‘इनसाइड द बङ्कर’ नामक युट्युब च्यानलबाट प्रसारण गरिएको सामग्रीप्रति काउन्सिलको ध्यानाकर्षण भएको जनाए।

यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथप्रदर्शकको एक अस्पतालको आइसीयुमै उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता लिई ‘बीबीसी नेपाली’ले प्रसारण गरेको भिडियो सामग्रीबारे पनि काउन्सिलले अध्ययन गरिरहेको विज्ञप्तिमा जनाइएको छ।

युट्युबमा ‘इनसाइड द बङ्कर’ कार्यक्रम चलाइरहेका सुरज सिंह ठकुरीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालको आइसीयुमा उपचाररत सञ्जय साह र कबिर महर्जनको अन्तर्वार्ता लिएका थिए। उकेराले प्राप्त गरेको जानकारी अनुसार ठकुरीलाई उनीहरूको अन्तर्वार्ता खिच्न सैनिक मुख्यालयले नै अनुमति दिएको खुलेको थियो। त्यसपछि ठकुरी करिब दुई घण्टासम्म आइसीयु कक्षमै अन्तरवार्ता खिचेका थिए। 

सार्वजनिक भएको भिडियोमा प्रस्तोता तथा घाइतेहरूले मास्कसमेत नलगाएको देखिएको र आइसीयु संवेदनशील क्षेत्रमा प्रवेश गरी अन्तर्वार्ता लिएपछि स्वास्थ्य संवेदनशीलता र चिकित्सकीय मापदण्डलाई लिएर प्रश्न उठेको थियो। उक्त विषयमा  ‘उकेरा’ले समाचार प्रकाशित गरेको थियो।

स्वास्थ्य सचिव डा. विकास देवकोटा र त्रिवि शिक्षण अस्पतालका आइसीयु विज्ञहरूले यसलाई ‘चरम लापरबाही र चिकित्सा आचारसंहिताको ठाडो उल्लङ्घन’ भनेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार यस्तो कार्य पूर्णतः गैरकानुनी र अनैतिक हो।

काउन्सिलका सह प्रवक्ता बोहराका अनुसार सघन उपचार कक्ष सामान्य अन्तर्वार्ता गर्ने स्थान नभएकाले त्यहाँ उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा र उपचार प्रक्रियामा पर्न सक्ने असरलाई गम्भीर रूपमा विचार गर्न आवश्यक हुन्छ।

उनले भने, “सघन उपचार कक्ष सामान्य अन्तर्वार्ता गर्ने स्थान होइन। त्यहाँ उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति र उपचार प्रक्रियामा पर्न सक्ने असरलाई पत्रकारले गम्भीर रूपमा विचार गर्नुपर्छ। हामीले यी दुवै सामग्रीलाई पत्रकार आचारसंहिताको दृष्टिले अध्ययन गरिरहेका छौं। सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलसँग पनि आवश्यक जानकारी मागेका छौं।”

उनले सम्बन्धित अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिई सम्बन्धित सञ्चारकर्मीले अन्तर्वार्ता लिएको हो, होइन भनेर जानकारी दिन पत्राचार गरिएको जानकारी दिए। त्यसैगरी काउन्सिलले नेपाल मेडिकल काउन्सिललाई समेत आइसियुमा सञ्चारकर्मीको प्रवेश अनुमति हुने नहुने विषयमा जानकारी दिनका लागि पत्राचार गरेको छ। अध्ययनपछि आवश्यक देखिए पत्रकार आचारसंहिताअनुसार थप प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ।

भदौ २९, २०८३ सोमबार १८:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।