फलाखुमा फड्के र भोटेकोशीमा तुइन निर्माणपछि पैदल आवागमन केही सहज
रसुवा : बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन पुनः सञ्चालनमा ल्याइएको छ।
फलाखु खोला र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा रहेका पक्की पुल बाढीले बगाएपछि सो क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प बनेको थियो।
नागरिकको दैनिक आवागमनलाई तत्काल सहज बनाउन सुरक्षा निकाय र स्थानीयवासीको सक्रियतामा वैकल्पिक संरचना तयार गरिएको हो।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार बेत्रावतीस्थित फलाखु खोलामा बाँस र काठको प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा भोटेकोशी नदीमाथि फलामे तुइन जडान गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयको संयुक्त श्रमदान र समन्वयमा यी संरचना निर्माण गरिएका हुन्।
स्याफ्रुबेँसीमा तुइन जडान कार्य सम्पन्न भइसकेको र दायाँबायाँको पैदल मार्ग व्यवस्थित गर्ने काम भइरहेकाले एक-दुई दिनभित्रै यो पूर्ण रूपमा सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।
वैकल्पिक संरचना बनेपछि नुवाकोट र रसुवाका ग्रामीण भेगका बासिन्दालाई ठूलो राहत मिलेको छ।
बेत्रावतीमा फड्के बनेपछि नुवाकोटतर्फका गेर्खु, छापटार, केराघारी तथा रसुवातर्फका लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चे क्षेत्रका बासिन्दाको आउजाउ सहज भएको बागमती प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए।
त्यसैगरी, स्याफ्रुबेँसीको तुइनबाट उत्तरी रसुवाका विकट गाउँहरू गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका नागरिकलाई सदरमुकाम तथा अन्य बजार क्षेत्रसम्म पुग्न सहज भएको छ।
फड्के र तुइनले तत्कालका लागि पैदल यात्रा सहज बनाए पनि स्थानीयवासीले भने दीर्घकालीन समाधानका रूपमा तत्काल बेलिब्रिज जडान गर्न सरकारसँग माग गरेका छन्।
सवारीसाधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी र बिरामी ओसारपसारमा समस्या हुने भन्दै उनीहरूले सडक र पुल पुनर्निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेका छन्।
भदौ २९, २०८३ सोमबार ०९:२९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।