भोटेकोशी बाढीबाट विस्थापितलाई सरकारले मासिक १५ हजार घरभाडा दिने

भोटेकोशी बाढीबाट विस्थापितलाई सरकारले मासिक १५ हजार घरभाडा दिने

काठमाडौं : सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि घरभाडा र अन्य आवश्यक खर्च बापत राहत रकम उपलब्ध गराउने भएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितहरूलाई अस्थायी व्यवस्थापनका लागि प्रतिपरिवार मासिक आर्थिक सहायता दिने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

सरकारको निर्णय अनुसार ४ जनासम्म सदस्य रहेको परिवारले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। परिवारमा चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यबापत अतिरिक्त २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ।

घरभाडाको सुविधा लिन नचाहने प्रभावितहरूका लागि भने सरकारले स्थायी आवास नबनुन्जेल अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको उनले जानकारी गराएका छन्।

राहत तथा सहायता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

सरकारले बाढीबाट भएको क्षति तथा नोक्सानीको प्रारम्भिक मूल्याङ्कन सम्पन्न गरिसकेको र हाल विस्तृत आवश्यकता मूल्याङ्कनको काम भइरहेको उनले बताएका छन्।

"सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्याङ्कन (PDNA) प्रक्रिया जारी छ। त्यसका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अघि बढाइनेछ," उनले भनेका छन्।

भदौ २८, २०८३ आइतबार १५:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।