भाइको खोजीमा ११ दिनसम्म रसुवामा भौँतारिएका सर्पसिंह भन्छन्, ‘न सास भेटियो न लास, अब परिवारलाई के भन्ने?’
काठमाडौं : भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर रसुवाको धुन्चेतर्फ जाँदा जुम्लाको गुठीचौरका सर्पसिंह महताराको मनमा एउटै आशा थियो, रसुवा पुगेपछि भाइहरू सकुशल भेटिनेछन्।
भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका उनका दुई भाइ दिनेश महतारा र अङ्गद बुढा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत थिए। तिनै भाइहरूको खोजीमा सर्पसिंह रसुवाको धुन्चे आसपासमा भौँतारिएको ११ दिन भइसकेको थियो।
तर, न त उनले भाइहरूको सुइँको पाए, न कुनै राम्रो खबर नै। धुन्चे पुगेपछि सुरुङमार्गबाट चिनियाँ नागरिकको उद्धार भएको खबरले उनको आशा झनै बलियो बनेको थियो। तर, धुन्चे र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा कुनै पनि खबर प्राप्त नभएपछि उनी निकै निराश छन्।
“एघार दिन रसुवा आसपासमा नै बसेर भाइहरूको खोजीमा जुटिरह्यौं। तर, कहीँकतै पनि आफ्नो भाइहरूको बारेमा खबर पाउन सकेनौं”, उनले भने, “आफन्तको न सास भेट्यो न त लास। यो पीडाले मन निकै भक्कानिइरहेको छ।”
दिन बित्दै जाँदा आशा अब निराशामा परिणत भइरहेको उनी सुनाउँछन्। महतारा भन्छन्, “अब भाइहरू बाँचेर आउने आशा पनि मरिसक्यो। अब घरमा परिवारलाई के भन्ने होला ?”
उनी मात्रै होइन, जुम्लाको पातारासी गाउँपालिकाबाट कालीबहादुर बोहरा पनि आफ्नो भतिज कुमार बोहराको खोजीको लागि रसुवा आसपास क्षेत्रमा धेरै दिनसम्म धाइरहे।
“हामी त भतिज कुमार पक्कै भेट्टिएलान् भनेर नै त्रिशूलीदेखि हिँडेर धुन्चेसम्म आइपुगेका थियौं। एघार दिनसम्म यहाँ वरपर खोजी गर्दा पनि नभेट्टिएपछि अमिलो मन लिएर फर्किन बाध्य छौं”, उनले भने, “माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले अपेक्षाकृत ढङ्गले खोजी नगर्दा पनि आफन्तको न सास पायौं न त लास नै।”
आफन्तको कुनै पनि खबर नपाएपछि महतारा र बोहरा यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किए। जुम्लाको पातारासी गाउँपालिका ४९ र गुठीचौर गाउँपालिकाका नौ गरी ५८ जना सम्पर्कविहीन छन्।
यी ५८ जना माथिल्लो त्रिशूली-ए जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका बोहराले बताए। बेपत्ताका परिवारले कम्पनीको तर्फबाट सम्पर्कविहीन भइरहेका कामदारको खोजीमा प्रभावकारी ढङ्गले काम हुन नसकेको गुनासो गरे।
भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारणले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ५३८ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सो आयोजनाबाट ८७८ जना सकुशल उद्धार र सात जनाको शव भेट्टाइएको छ।
इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा नौ जना कोरियन नागरिक, ३४ चिनियाँ नागरिक र ५० भारतीय नागरिक र बाँकी सबै नेपाली नागरिक छन्। सो आयोजनामा कूल एक हजार ४३३ जना कार्यरत रहेका थिए। माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी हो।
आयोजनाको मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका तीन सय ८५ जना सम्पर्कविहीन छन्।
त्यसैगरी, हाइड्रो मेकानिकल तथा इलेक्टो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन छन्। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना अहिलेसम्म पनि सम्पर्कविहीन रहेका इप्पानले जनाएको छ।
कम्पनीका अनुसार माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट भने ८७८ जनाको उद्धार गरिएको छ। यो आयोजना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-१ हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको थियो। यो आयोजना २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
कम्पनीका अनुसार बाढीले आयोजनाको निर्माण सम्पन्न हुन लागेको बाँधलगायतका संरचना (हेडबक्र्स) र कार्यालय तथा आवास क्षेत्र पूर्ण रूपमा बगाएको छ।
बाढी आउनुअघि पूर्व सूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको कम्पनीले जनाएको छ।
-आंशिक सम्पादनसहित प्रकाशित राससको सामाग्री
भदौ २८, २०८३ आइतबार १२:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।