ग्यास लुकाएको सूचना पाए प्रशासनलाई खबर गर्न आग्रह
काठमाडौं : बजारमा खाना पकाउने ग्यास बिक्री नगरेर लुकाएको पाइएमा तत्काल सूचना दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।
शनिबार एक सूचना जारी गरेर प्रशासनले ग्यास लुकाउने वा तोकिएको भन्दा बढी मूल्य लिने विक्रेताको सूचना दिन आग्रह गरेको हो। ग्यासको आपूर्ति भइरहेको अवस्थामा उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि बजार अनुगमनलाई समेत तीव्र पारेको जनाएको छ।
प्रशासनले ग्यास पाएर पनि बिक्री नगर्ने वा स्टक राख्नेलाई तत्काल नियन्त्रणमा लिई कालोबजारी ऐनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। उद्योग वा डिलरबाट ग्याँस प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन समेत दिइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका ग्यासको अभाव देखिएपछि प्रशासनले बजारमा अनुगमन गरिरहेको छ। अनुगमन टोलीले ग्यास लुकाएको अवस्थामा फेला पारे कारबाही प्रक्रिया अघि बढाइने उनले बताएका छन्।
साथै उनले ग्यास स्टक राखेर बिक्री नगरेको वा लुकाएको सूचना पाइएमा प्रशासन कार्यालयका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा फोन गरी जानकारी गराउन आग्रह गरे।
भदौ २८, २०८३ आइतबार १०:१६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।