३४ टन सामाग्रीसहित पाँचौँ खेप राहत लिएर काठमाडौं आइपुग्यो ‘यूएई एयर फोर्स’

३४ टन सामाग्रीसहित पाँचौँ खेप राहत लिएर काठमाडौं आइपुग्यो ‘यूएई एयर फोर्स’

काठमाडौं : भोटेकोशी बाढी प्रभावितहरूका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले निरन्तर सहयोग जारी राखेको छ। सोही क्रममा ३४ टन राहत सामाग्री बोकेको युएईको पाँचौँ राहत विमान शुक्रबार काठमाडौं आइपुगेको हो।

यूएईको सैन्य हेलिकप्टरमार्फत ल्याइएका राहत सामग्री गृहमन्त्री सुदन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद अल शम्सीले संयुक्त रूपमा बुझेका छन्।

विमानमार्फत ल्याइएका सामाग्रीहरूमा उद्धार कार्यका लागि प्रयोग हुने जेट स्की, उद्धार बोटहरू, राहत प्याकेज, सोलार प्यानल तथा खोज र उद्धारका लागि आवश्यक विशेष उपकरणहरू रहेका छन्। यी सामाग्रीहरूले उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्न र प्रभावित क्षेत्रमा पहुँच सहज बनाउन मद्दत पुर्याउने विश्वास लिइएको छ।

पाँचौँ विमानको आगमनसँगै युएईले हालसम्म हवाई मार्गबाट नेपालका बाढी र पहिरोपीडितका लागि करिब २२० टन राहत तथा मानवीय सामाग्री हस्तान्तरण गरिसकेको छ।

सामाग्री ग्रहण गर्दै गृहमन्त्री गुरुङले प्राकृतिक विपत्तिका कारण उत्पन्न विषम परिस्थितिमा युएई सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे। विशेष गरी खोज तथा उद्धार कार्यमा उपयोगी हुने बोट तथा जेट स्कीजस्ता उपकरणहरू यस समयमा निकै महत्त्वपूर्ण रहेको उनले बताए।

विपद् र संकटका बेला द्रुत प्रतिक्रिया जनाउँदै प्रभावित देश तथा समुदायलाई तत्काल मानवीय सहयोग पुर्याउने आफ्नो प्रतिबद्धताअनुसार युएईले सहयोग जारी राखेको जनाएको छ। 

भदौ २७, २०८३ शनिबार ११:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।