एमाले कार्यदलमा दुई छुट्टाछुट्टै दस्तावेज पेस, एउटै प्रतिवेदन बनाएर सचिवालयमा पेस गर्ने सहमति
काठमाडौं : एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकमा पेस भएका दुई छुट्टाछुट्टै दस्तावेजका विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने सहमति जुटेको छ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार बसेको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुई वटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरे। एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै उनले ती दस्तावेज प्रस्तुत गरेका थिए।
दुई वटा भिन्न ‘डकुमेन्ट’ प्रस्तुत गरेपछि नेताहरूले छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने भएकोले सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने सहमति गरे।
बैठकले आज प्रस्तुत भएका दुवै ‘डकुमेन्ट’को अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गर्यो। सोही निर्णयसहित शुक्रबार बसेको बैठक सम्पन्न भयो।
भदौ २६, २०८३ शुक्रबार १५:३९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।