अर्थतन्त्रलाई चलायमान बनाउन पाँच विशेष प्याकेज ल्याउने तयारीमा सरकार
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न क्षेत्रलाई समेटेर पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्।
सेजनको २८औँ वार्षिक साधारण सभामा उनले अर्थतन्त्र सुधारका लागि प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए।
पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको उनले जानकारी दिए। बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि अध्ययन भइसकेको उनले बताए।
दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनको भनाइ छ। निजी क्षेत्रको प्रवर्द्धन तथा पुनरुत्थानका लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै वाग्लेले त्यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने बताए।
चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिष्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले जानकारी दिए। पाँचौं प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको वाग्लेले बताए।
“अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौं,” उनले भने। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएकाले प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
भदौ २६, २०८३ शुक्रबार १४:२०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।