ग्यासको लागि मात्र मन्त्री परिवर्तन गर्दा ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुन्छ : आशिका तामाङ

ग्यासको लागि मात्र मन्त्री परिवर्तन गर्दा ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुन्छ : आशिका तामाङ

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न नसकेको भन्दै आफ्नै सरकारको कार्यशैलीमाथि संसद्‌मा कडा आक्रोश पोखेकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले पसलहरूमा सिलिन्डर थुपारेर व्यापारीहरूले लुकाउँदा समेत सरकार लाचार बनेको आरोप लगाइन्।

सर्वसाधारणले दिनहुँ ग्यास नपाएर सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले देशमा सरकारभन्दा बिचौलिया र माफियाहरू बलिया भएको हो कि भनी प्रश्न गरिन्।

“मलाई दिनमा हजारौँ कल आउँछन्- ‘आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले बेच्न मान्दैनन्’,” संसद्‌मा उनले भनिन्, “यो त ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ जस्तो भएन र सभामुख महोदय? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?”

पसलमा ग्यासका सिलिन्डर हेर्दै जनता भोकभोकै बस्नुपर्ने दिन हेर्नका लागि नागरिकले दुई तिहाइको जनमत नदिएको उनको भनाइ थियो। यदि देशमा ग्यास नै नभएको हो भने सरकारले ढाँट्न छोडेर सिधै घोषणा गर्नुपर्ने उनले माग गरिन्।

“यदि साँच्चिकै देशमा ग्यास छैन भने आजै, अहिल्यै सरकारले घोषणा गरिदेओस् र जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सकोस्,” उनले भनिन्।

सरकारले समस्या समाधान गर्नुको साटो मन्त्री मात्र फेरेको भन्दै उनले भनिन्, “महिनेपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने, ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ!”

निवर्तमान मन्त्री गौरीकुमारी यादवको राजीनामापछि प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी- ४ बाट निर्वाचित दीपक साहलाई नियुक्त गरेका थिए।

भदौ २६, २०८३ शुक्रबार १४:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।