पैसा नभएकै कारण कुनै गर्भवतीलाई नफर्काइयोस्, ‘नो डिनायल इन लेबर’ लागू गरियोस् : सांसद कार्की

पैसा नभएकै कारण कुनै गर्भवतीलाई नफर्काइयोस्, ‘नो डिनायल इन लेबर’ लागू गरियोस् : सांसद कार्की

काठमाडौं : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पतालको गेटबाहिर सडकपेटीमै एक गर्भवती महिलाले शिशु जन्माउनुपरेको घटनाले शुक्रबार प्रतिनिधिसभा बैठक तातेको छ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले आकस्मिक समयमा बोल्दै निःशुल्क मातृशिशु स्वास्थ्य सेवाको सरकारी दाबीमाथि प्रश्न उठाइन्।

अस्पताल अगाडिको सडकपेटीमा व्यथाले छटपटाउँदै सन्तान जन्माउन बाध्य भएकी सप्तरीकी २९ वर्षीया बबिताकुमारी पासमानको घटना उल्लेख गर्दै उनले देशको समग्र स्वास्थ्य प्रणालीको लज्जास्पद अनुहार छताछुल्ल भएको बताइन्।

“हामी गर्व गर्थ्यौं-  नेपालमा संस्थागत सुत्केरी निःशुल्क छ, आमा सुरक्षा कार्यक्रम छ, मातृ मृत्युदर घटिरहेको छ, यातायात खर्चसमेत दिइन्छ,” डा. कार्कीले भनिन्, “तर सङ्घीय सरकारी अस्पतालको नजिकै सडकपेटीमा एउटी आमाले बच्चा जन्माउनुपरेको दृश्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको ‘रिपोर्ट कार्ड’ हामीसामु ल्याइदिएको छ।”

डा. कार्कीले भनिन्, “राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन्, तर राज्यको सेवा बबितासम्म पुगेन। हरेक गर्भवती महिलासम्म राज्य आफैँ पुगोस् र भनोस्- ‘चिन्ता नलिनु बबिता, म तिम्रो साथमा छु, राज्य तिम्रो साथमा छ।’”

‘पाठेघरको मुख खुलिसकेको बिरामीलाई अस्पतालले कसरी बाहिरिन दियो?’
चिकित्सकसमेत रहनुभएकी सांसद कार्कीले अस्पतालको चरम लापरबाही र क्लिनिकल कमजोरीमाथि सिलसिलेवार प्रश्न तेर्स्याइन्।

“प्रसव व्यथामा अस्पताल पुगेकी महिलाको तत्काल ट्रायज र आपत्कालीन क्लिनिकल परीक्षण भयो कि भएन? लेबर पेनमा रहेकी महिलालाई तत्काल भर्ना गरेर ‘तपाईंको पाठेघरको मुख खुलिसकेको छ, कतै नजानुस्, हामी निरन्तर निगरानी गर्छौं’ भन्नुपर्ने थियो कि थिएन?”, उनले प्रश्न गरिन्।

अस्पतालमा फारम भर्दा फोन नम्बर हुने भए पनि बिरामी बेडमा नदेखिँदा किन खोजी गरिएन भन्दै उहाँले आक्रोश पोखिन्।

“ब्लड टेस्ट र भिडिओ एक्सरेका लागि पैसा छैन भन्दैमा अस्पतालभित्रको ‘सामाजिक सेवा इकाई’ र ‘आमा सुरक्षा कार्यक्रम’ किन तत्काल सक्रिय भएन?” उनले सोधिन्, “के आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउनलाई मात्र फ्री हो कि सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने हो?”

स्वास्थ्य मन्त्रालयलाई ४ बुँदे ठोस सुझाव र माग :
डा. कार्कीले दोषीमाथि छानबिन र कारबाही मात्र गरेर नपुग्ने भन्दै यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायहरू अघि सारिन्।

प्रसव व्यथा लागेर अस्पताल पुगेकी कुनै पनि महिलालाई पैसा भए/नभएको नहेरी, कुनै पनि बहानामा नरोकी तत्काल क्लिनिकल परीक्षण गरी सुरक्षित रूपमा भर्ना लिने अनिवार्य प्रोटोकल देशभर लागू गर्नुपर्ने उनको भनाइ छ।

‘आमा सुरक्षा कार्यक्रम’ केवल डेलिभरी गराउनमा मात्र सीमित नभई सम्पूर्ण जाँच, भिडिओ एक्सरे, आवश्यक औषधि, उपचार, सुत्केरी सेवा, शिशु स्याहार र परिवार नियोजनसम्म समेट्ने गरी नीतिगत पुनरावलोकन गर्न उनले सुझाइन्।

विपन्न बिरामीले पैसा नभएर अस्पताल छाड्नुपर्ने अवस्था आउन नदिन प्रत्येक अस्पतालमा ‘सामाजिक सेवा इकाई’ २४सै घण्टा अलर्ट र सक्रिय रहने संयन्त्र बनाउनुपर्ने र बिरामीले गुहार माग्ने होइन, अस्पतालले नै विपन्न पहिचान गरी सहयोग गर्नुपर्नेमा जोड दिए।

कुन बिरामी कति बजे अस्पताल आयो, ट्रायज भयो कि भएन, उपचारमा ढिलाइ कहाँ भयो र आर्थिक भार कति पर्यो भन्ने सूक्ष्म नियमन गर्न प्रत्येक अस्पतालमा अडिट प्रणाली अनिवार्य गर्न समेत उनको माग थियो।

के थियो घटना?
गत २४ भदौ बिहान करिब २ बजे सुत्केरी व्यथा लागेपछि राजविराज-१४ की बबिता पासमानलाई श्रीमान् हरेराम पासमानले गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएका थिए।

पाठेघरको मुख १.५ सेन्टिमिटर खुलिसकेको अवस्थामा भर्ना गरिए पनि अस्पतालले थप जाँचका लागि बिल थमाएपछि विपन्न हरेराम रकम जोहो गर्न नसकेर अलमलमा परेका थिए।

अस्पतालभित्र बस्ने वातावरण नपाएपछि बाहिर निस्किएकी बबिताले सडकपेटीमै करिब दुई घण्टा छटपटाएर बिहान ३:२७ बजे छोरालाई जन्म दिएकी थिइन्।

उक्त दृश्य नजिकैको फार्मेसीको सीसीटीभीमा कैद भएर सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र बिहीबार दिउँसो अस्पतालले बबिताको घरमा एम्बुलेन्स पठाएर पुनः अस्पताल ल्याएको थियो।

भदौ २६, २०८३ शुक्रबार १४:०८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।