ई-जिपी बन्द गरेर ठेक्कापट्टामा फेरि गुण्डागर्दी र लुटपाट फर्काउन खोजियो : सांसद दुलाल

ई-जिपी बन्द गरेर ठेक्कापट्टामा फेरि गुण्डागर्दी र लुटपाट फर्काउन खोजियो : सांसद दुलाल

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ई-जिपी) बन्द गरेर विकास निर्माण र ठेक्कापट्टालाई फेरि ‘कागजी युग’ र ‘गुण्डागर्दी शैली’मा फर्काउन खोजेको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउन १३ वर्षअघि (२०७० सालमा) सुरु गरिएको ई-जिपी प्रणालीलाई अहिले षड्यन्त्रपूर्वक बन्द गरिएको दाबी गरे।

साउन, भदौ, असोज र कात्तिक महिना सरकारको खरिद तथा ठेक्का लगाउने मुख्य समय भएको उल्लेख गर्दै उनले प्रणाली बन्द हुँदा देशभरका तीनै तहका सरकारको काम ठप्प भएको बताए।

“अहिले नेपालमा एउटा मात्र सरकार छैन; सङ्घीय सरकारका सयौँ कार्यालय, सातै प्रदेशका कार्यालय र ७५३ वटै स्थानीय तहका ठेक्कापट्टा हुने मुख्य समय यही हो,” दुलालले भने, “तर अहिले औषधि, स्वास्थ्य उपकरण, अत्यावश्यक सामग्री खरिददेखि सम्पूर्ण विकास निर्माणका कामहरू ठप्प पारिएका छन्।”

‘ह्याकिङको बहानामा बिचौलियाको सेटिङ’
सांसद दुलालले ई-जिपी प्रणाली ‘ह्याक भयो’ भन्ने बहाना बनाएर यसलाई सधैँका लागि खारेज गर्न खोजिएको आशंका व्यक्त गरे।

पुरानो कोडबाट यो सिस्टम चल्दैन भन्ने बहाना बनाएर विगतमा ह्याकिङमा संलग्न बिचौलिया, कर्मचारी र व्यापारीको मिलेमतोमा यो प्रणालीलाई नै ‘कोल्याप्स’ (क्र्यास) गराउने खेल भइरहेको उनको आरोप छ।

“डिजिटल शासन र सुशासनको कुरा गरेर आएको सरकार, लाइन होइन अनलाइन भन्दै विद्युतीय प्रणालीको रटान लगाउने सरकारले फेरि देशलाई कागजी युगमा फर्काउनु लाजमर्दो विडम्बना हो,” दुलालले भने, “ई-जिपी प्रणालीलाई खारेज गरेर फेरि कागजी मोडलमा लगेर गुण्डागर्दी र लुटपाटको शैलीमा ठेक्कापट्टा चलाउन खोजियो भने यो सरकारका लागि कुशासनको मार्ग प्रशस्त गर्ने सबैभन्दा ठूलो माध्यम हुनेछ।”

सांसद दुलालले ई-जिपी प्रणालीलाई तत्काल पुनः सञ्चालनमा ल्याउन सरकारसँग जोडदार माग गरे। साथै, ह्याकिङ भएको भए त्यसमा संलग्न कर्मचारी, बिचौलिया वा व्यवसायी जोसुकै भए पनि कसैलाई उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउन छानबिनको माग गरे।

भदौ २६, २०८३ शुक्रबार १३:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।