‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’

‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मङ्गलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेका छन्।

अघिल्ला वर्षहरूको तुलनामा अहिले बजारको माग धान्न सक्नेभन्दा बढी नै ग्यास आयात र वितरण भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अफवाह वा भ्रमको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास थुपारेर नराख्न उपभोक्तालाई आग्रह गरिएको छ भने घरमा अर्को सिलिन्डर नभएका सर्वसाधारणलाई प्राथमिकता दिएर ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ।

यस्तै बजार अनुगमनलाई तीव्र पारिएको दाबी गरेको मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।

ग्यासको आयात र वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँग समन्वय भइरहेको मन्त्रालयले प्रस्ट पारेको छ।

साउन २०, २०८३ बुधबार ०७:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।