ग्यासको अभाव देखिएपछि उद्योग सङ्घको आग्रह : ‘आपूर्ति नियमित छ, जगेडा नराखौं’
चितवन : बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ।
ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको सङ्घको दाबी छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन। विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ।
उनले भने, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूर्ति भइरहेको छ।”
उनका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए।
एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउँछन्। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ।
हाल बजारमा एक करोड ५० लाख थान सिलिण्डर छन्। जसमध्ये ५० लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो। हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन्।
साउन ११, २०८३ सोमबार १५:३२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।