नागरिक एपबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सकिने
काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपमार्फत बचत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सार्वजनिक गरेको छ।
बैंकका अनुसार नागरिक एपसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो सुविधा सञ्चालनमा ल्याइएको हो।
यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। बैंकका अनुसार खाता खोल्न आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध लिंकमार्फत प्राप्त गर्न सकिनेछ।
खाता खोल्ने क्रममा प्रयोगकर्ताको पूर्वस्वीकृति लिएर नागरिक एपबाट आवश्यक विवरणहरू सुरक्षित रूपमा प्राप्त गरिने भएकाले पुनः व्यक्तिगत विवरण भर्नुपर्ने झन्झट हट्नेछ। साथै, ग्राहकको गोपनीयता र सूचनाको सुरक्षालाई पनि प्राथमिकता दिइएको बैंकले जनाएको छ।
यद्यपि, एपमार्फत खोलिएको खाता सञ्चालनमा ल्याउन ग्राहकले नजिकको शाखा कार्यालयमा गएर वा भिडियो केवाईसी प्रक्रियामार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित र सरल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।
साउन १०, २०८३ आइतबार १७:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।