फकल्याण्ड टापुको विवाद विश्वकपमा पनि, इङ्गल्याण्ड र अर्जेन्टिनाको खेलअघि एटलान्टामा ‘हाइ अलर्ट’

फकल्याण्ड टापुको विवाद विश्वकपमा पनि, इङ्गल्याण्ड र अर्जेन्टिनाको खेलअघि एटलान्टामा ‘हाइ अलर्ट’

एजेन्सी : विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार मध्यरात दुई चिरप्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दैछन्।

मैदानभित्रको फुटबल प्रतिष्पर्धा र मैदानबाहिरको ऐतिहासिक तनावलाई मध्यनजर गर्दै अमेरिकाको एटलान्टामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको इङ्गल्याण्ड र साविक विजेता अर्जेन्टिनाबीचको यो खेललाई अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक मानिन्छ।

इङ्गल्याण्ड र अर्जेन्टिनाबीच सन् १९८२ मा ‘फकल्याण्ड टापु’लाई लिएर ७४ दिन लामो युद्ध भएको थियो। उक्त युद्धमा दुवैतर्फका सयौं सैनिकले ज्यान गुमाएका थिए। टापुको सार्वभौमसत्तालाई लिएर दुई देशबीच अझै पनि कूटनीतिक विवाद कायमै छ।

यसैगरी, सन् १९८६ को विश्वकपमा म्याराडोनाले इङ्गल्याण्डविरुद्ध हातले गोल गरेपछि यी दुई टोलीको खेल झनै उत्तेजित बन्ने गरेको छ। अहिलेका सुपरस्टार लियोनेल मेसीले आफ्नो खेल जीवनमा पहिलो पटक इङ्गल्याण्डको सामना गर्दैछन्।

एटलान्टा प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै खेलस्थल, पर्यटकीय क्षेत्र र मानिसहरूको धेरै भिड हुने स्थानमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

‘हामीले शहरको सुरक्षा अवस्थालाई थप मजबुत बनाएका छौँ। यो ऐतिहासिक खेललाई सबैले सुरक्षित रूपमा हेर्न सकून् भन्ने हाम्रो लक्ष्य हो’, प्रहरीले भनेको छ।

राजनीति भन्दा फुटबलमा केन्द्रित हुन अपिल
यसैबीच, अर्जेन्टिनाका युद्ध लडाकुहरूको एक संस्थाले प्रशंसकहरूलाई राजनीति र खेललाई अलग राख्न अपिल गरेको छ।

उनीहरूले भनेका छन्, ‘सार्वभौमसत्ताको रक्षा कुटनीतिक माध्यम र ऐतिहासिक तथ्यका आधारमा गरिन्छ। खेलमैदानमा भने राष्ट्रिय गौरव र खेलप्रति मात्र केन्द्रित हुनुपर्छ।’

इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि यो केवल ‘फुटबलको खेल’ मात्र भएको र मैदानमा फुटबलकै भाषा चल्ने बताएका छन्।

अमेरिकामा रहेका इङ्गल्याण्डका समर्थकहरूको व्यवहार राम्रो देखिए पनि बेलायतभित्र भने समस्या देखिएको छ।

गत शनिबार नर्वेसँगको खेलपछि बेलायतमा फुटबलसँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति पक्राउ परेका थिए। प्रहरीले समर्थकहरूलाई शान्त रहन र खेलको मर्यादा कायम राख्न आग्रह गरेको छ।

यी दुई टोली २४ वर्षपछि पहिलो पटक विश्वकपमा आमने-सामने हुन लागेका हुन्। यसअघि सन् २००२ को विश्वकपमा इङ्गल्याण्डले अर्जेन्टिनालाई १-० ले हराएको थियो।

असार ३०, २०८३ मंगलबार १३:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।