६० वर्षपछि फाइनल पुग्ने लक्ष्यमा इङ्गल्याण्ड, विश्वकपमा पहिलोपटक इङ्गल्याण्डविरुद्ध खेल्दै मेस्सी
एजेन्सी : विश्वकप फुटबलको रौनक अब अन्तिम चरणमा पुगेको छ। साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्गल्याण्ड सेमिफाइनलमा प्रवेश गरेसँगै अब उपाधि भिडन्त निकै रोचक हुने देखिएको छ।
फ्रान्सविरुद्ध स्पेनको पहिलो सेमिफाइनल बुधबार विहान डालस स्टेडियममा हुनेछ। युरोपका दुई बलिया टोलीबीचको यो खेललाई ‘फाइनलअघिको फाइनल’का रूपमा हेरिएको छ।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे ८ गोलसहित उत्कृष्ट लयमा छन्। उनी लियोनेल मेस्सीको कीर्तिमान नजिक पुग्न चाहन्छन्। अर्कोतर्फ, स्पेनका १९ वर्षीय युवा स्टार लामिन यामलबाट विश्वले जादुमयी प्रदर्शनको अपेक्षा गरेको छ।
फ्रान्सको टोलीमा ओस्मान डेम्बेले र माइकल ओलिसे जस्ता खेलाडीहरू छन् जसले कुनै पनि समय खेलको नतिजा बदल्न सक्छन्।
स्पेन विगत ३६ खेलदेखि अपराजित छ। सन् २०१० को विश्वविजेता स्पेन अहिले आफ्नो उत्कृष्ट लयमा छ र दोस्रो पटक उपाधि जित्ने दाउमा छ।
यस्तै इङ्गल्याण्डविरुद्ध अर्जेन्टिनाको दोस्रो सेमिफाइनल नेपाली समय अनुसार बिहीबार बिहान एटलान्टा स्टेडियममा हुनेछ। खेलमा फुटबल इतिहासकै सबैभन्दा पुरानो र चर्चित प्रतिद्वन्द्वीबीचको भिडन्त हुनेछ।
अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी पहिलो पटक विश्वकपमा इङ्गल्याण्डविरुद्ध मैदान उत्रिँदैछन्। उनले यो प्रतियोगितामा ८ गोल गरिसकेका छन् र उनी एम्बाप्पेसँगै ‘गोल्डेन बुट’को दौडमा छन्।
इङ्गल्याण्ड सन् १९६६ पछि अर्थात ६० वर्षपछि पहिलो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ। जुड बेलिङ्घम र ह्यारी केनको जोडी इङ्गल्याण्डका लागि मुख्य हतियार हुनेछन्।
सन् १९८६ मा म्याराडोनाले इङ्गल्याण्ड विरुद्ध गरेको गोल अझै चर्चामा छ। ४० वर्षपछि फेरि यी दुई टोली ठूलो मञ्चमा आमनेसामने हुँदैछन्।
उपाधि होडमा अब यी चार राष्ट्रबीचको दुरी मात्र दुई जितको छ। अब हेर्न बाँकी छ, कुन दुई टोलीले फाइनलको यात्रा तय गर्नेछन्!
असार २९, २०८३ सोमबार ०८:४९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।