फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा, शीर्ष चार वरियताका टोली अन्तिम चारमा
एजेन्सी : फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएका छन्।
४८ टोलीको सहभागिता रहेको यस ऐतिहासिक महाकुम्भमा अब चारवटा टोलीहरू उपाधिको प्रतिस्पर्धामा छन्।
विश्वकपको इतिहासमा पहिलो पटक विश्व वरियताको शीर्ष चार स्थानमा रहेका फ्रान्स, स्पेन, इङ्गल्याण्ड र अर्जेन्टिनाले आ-आफ्नो क्वार्टरफाइनल खेल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्यो भने स्पेनले बेल्जियमलाई २–१ ले हरायो। यस्तै, इङ्गल्याण्डले नर्वेमाथि २–१ को जित निकाल्दा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ।
अब पहिलो सेमिफाइनलमा मङ्गलबार फ्रान्स र स्पेन आमनेसामने हुनेछन्। दोस्रो सेमिफाइनलमा बुधबार इङ्गल्याण्ड र अर्जेन्टिना भिड्नेछन्।
सेमिफाइनलका खेलहरूमा विश्वका चर्चित फुटबल स्टारहरू मैदान उत्रनेछन्। फ्रान्सका प्रमुख स्ट्राइकर किलियन एम्बाप्पे प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका छन्। प्रतियोगिताका हरेक खेलमा गोल गरेका उनलाई मिचेल ओलिसे र उस्मान डेम्बेलेको साथ रहनेछ।
अर्कोतर्फ, स्पेनका युवा स्टार लामिन यमल पहिलो पटक विश्वकप सेमिफाइनल खेल्दैछन्। पछिल्ला दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर निर्णायक गोल गरेका मिकेल मेरिनो पनि स्पेनका महत्त्वपूर्ण खेलाडीका रूपमा रहनेछन्।
यस्तै, इङ्गल्याण्डका कप्तान ह्यारी केनको लयसँगै मिडफिल्डर जुड बेलिङ्घम गोल्डेन बुटको दौडमा ६ गोलसहित अगाडि बढेका छन्। उता, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ६ खेलमा ८ गोल गर्दै आफ्नो टोलीको उपाधि रक्षाको यात्रालाई निरन्तरता दिइरहेका छन्।
ड्र संरचनाले बनायो ऐतिहासिक सेमिफाइनल
यसपटक विश्व वरियताको शीर्ष चार स्थानमा रहेका टोली एकसाथ अन्तिम चारमा पुग्नुमा फिफाले अपनाएको नयाँ ड्र संरचनाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। नयाँ नियम अनुसार यी शीर्ष चार टोलीहरूलाई ड्र को छुट्टाछुट्टै 'क्वाड्रन्ट' (चारवटा फरक भाग) मा राखिएको थियो, जसका कारण उनीहरू सेमिफाइनल अघि एक-आपसमा भिड्न नसक्ने सुनिश्चित गरिएको थियो।
यस व्यवस्थाअनुसार शीर्ष वरियताको स्पेन र दोस्रो वरियताको अर्जेन्टिना फाइनलअघि भेट्न सक्ने अवस्था थिएन। त्यसैगरी, फ्रान्स र इङ्गल्याण्डलाई नकआउट चरणको फरक भागमा राखिएकाले उनीहरू पनि सेमिफाइनलअघि आमनेसामने हुन सकेनन्।
फिफाले यस निर्णयलाई प्रतियोगिताको प्रतिस्पर्धात्मक सन्तुलन कायम राख्ने, शीर्ष टोलीबीचको रोमाञ्चक भिडन्त अन्तिम चरणसम्म सुरक्षित गर्ने र विश्वकपको आकर्षण जोगाइराख्ने उद्देश्यले गरिएको जनाएको थियो।
४८ टोलीको विश्वकपमा नयाँ प्रयोग सफल
३२ टोलीको पुरानो विश्वकप ढाँचाबाट ४८ टोलीमा विस्तार भएपछि नकआउट चरण थपिएको थियो। यसले शीर्ष टोलीहरू सुरुमै एकअर्कासँग भिड्ने सम्भावना बढेपछि फिफाले नयाँ ड्र प्रणाली लागू गरेको हो।
यसअघि विश्व वरियताका शीर्ष टोलीहरू विश्वकपमा अपेक्षाअनुसार सफल हुन सकेका थिएनन्। बेल्जियम (२०२२), जर्मनी (२०१८), स्पेन (२०१४), इटाली (२०१०) र फ्रान्स (२००२) जस्ता टोली समूह चरणबाटै बाहिरिएका उदाहरण छन्।
तर यसपटक भने फिफाको नयाँ संरचनाले अपेक्षित परिणाम दिएको देखिएको छ। विश्व फुटबलका चार शक्तिशाली राष्ट्र अन्तिम चारमा पुगेपछि अब विश्वकप उपाधिका लागि हुने सेमिफाइनल भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक चरणका रूपमा हेरिएको छ।
असार २८, २०८३ आइतबार १२:५२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।