अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना; स्विट्जरल्यान्डमाथि ३-१ को रोमाञ्चक जितसँगै सेमिफाइनलमा
काठमाडौं : जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेपछि स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा जित निकालेसँगै अर्जेन्टिनाको सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट पक्का भयो।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले २-१ को अग्रता लियो। १२०+१ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनालाई ३-१ को जित दिलाए।
यसअघि, खेलको १० औँ मिनेटमा लियोनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६७ औँ मिनेटमा स्विट्जरल्यान्डका डान एनडोयेले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।
खेलको ७२ औँ मिनेटमा एमबोलो दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य बनेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो। अर्जेन्टिनी खेलाडी लिएन्द्रो पारेडेसले फाउल गरेको भन्दै डाइभ गरेको देखिएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा स्ट्राइकर ब्रेल एमबोलोलाई दोहोरो पहेँलो कार्डसहित मैदान बाहिर पठाइएको थियो।
यस खेलमा अर्जेन्टिनी खेलाडीहरूले आफ्ना पूर्व खेलाडी एन्टोनियो रेटिनको सम्मानमा हातमा कालो पट्टी बाँधेर मैदान उत्रिएका थिए। ८९ वर्षको उमेरमा निधन भएका रेटिनले सन् १९६२ र १९६६ को विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए।
खेल सकिएपछि कप्तान लियोनल मेसीले आफ्नो जर्सी समर्थकहरूतर्फ हल्लाउँदै जितको खुसी साटेका थिए। प्रतियोगिताको सेमिफाइनल समीकरणअनुसार अब अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन्।
असार २८, २०८३ आइतबार १०:०५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।