‘मैदानमा दौडिन छाडे, तर गोल गर्न बिर्सेका छैनन्’
एजेन्सी : विश्वकप फुटबलको इतिहासमा ३९ वर्षको उमेरमा कुनै पनि खेलाडीले लियोनेल मेस्सीले जस्तो प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्।
धेरैजसो खेलाडीले यो उमेरमा खेलबाट सन्न्यास लिएर आराम गरिरहेका हुन्छन्। तर मेस्सी भने अझै पनि विश्वका उत्कृष्ट टिमका डिफेन्सहरूलाई छक्याउँदै गोल गरिरहेका छन्।
तर, मेस्सीको यो सफलताको रहस्य उनको दौडमा होइन, बरु उनको ‘हिँडाइ’ मा लुकेको छ।
अहिलेको फुटबल शारीरिक रूपमा निकै चुनौतीपूर्ण र तीव्र गतिको हुँदै गएको छ। तर, अर्जेन्टिनी कप्तान मेस्सीले भने यसलाई आफ्नै नयाँ शैलीमा ढालेका छन्।
फिफाको पछिल्लो तथ्याङ्क अनुसार मेस्सीले जारी विश्वकपका पाँच खेलमा ३५ हजार ८ सय ६८ मिटर दुरी पार गरेका छन्।
तर अचम्मको कुरा के छ भने, यसमध्ये ६४ प्रतिशत दुरी उनले ० देखि ७ किलोमिटर प्रतिघन्टाको गतिमा अर्थात् ‘हिँडेरै’ पार गरेका हुन्।
एक अध्ययन अनुसार, केप भर्ड विरुद्धको खेलमा दोस्रो हाफको १५ मिनेटको समयमा मेस्सी जम्मा ५१ सेकेन्ड मात्र दौडिएका थिए। बाँकी समय उनी या त उभिएर विपक्षीको रणनीति नियालिरहेका थिए, या त विस्तारै हिँडिरहेका थिए।
यदि ९० मिनेटको हिसाब गर्ने हो भने, मेस्सी खेलभरि जम्मा ५ मिनेट मात्र दौडिन्छन्। तर, त्यो ५ मिनेट नै विपक्षीको पोस्टमा गोल गर्न पर्याप्त हुन्छ।

मेस्सी अहिले विश्वकपमा सबैभन्दा कम दौडिने खेलाडीमध्ये एक हुन्, तर सबैभन्दा धेरै गोल गर्नेमा भने उनी शीर्ष स्थानमा छन्। विश्पकपको क्वार्टरफाइनलमा प्रवेश गरेका अन्य देशका ठूला स्ट्राइकरहरूसँग तुलना गर्दा समेत त्यस्तै देखिन्छ।
इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन ६ सय पटक तीव्र गतिमा दौडिँदा किलियन एम्बाप्पे ३ सय ३६ पटक अनि लियोनेल मेस्सी जम्मा २ सय ९८ पटक तीव्र गतिमा दौडिएका छन्। उनकै पदचापलाई नर्वेका स्ट्राइकर अर्लिङ हाल्यान्डले समेत पछ्याएका छन्। उनले अहिलेसम्म ३ सय १४ पटक तीव्रत गतिमा दौडिएका छन्।
मेस्सीले आफ्नो शक्ति अनावश्यक रूपमा खेर फाल्दैनन्। उनी मैदानमा उचित मौकाको पर्खाइमा हुन्छन् र जब मौका पाउँछन्, तब मात्र विस्फोटक रूपमा अघि बढ्छन्।
केप भर्डविरुद्धको पहिलो गोल यसको उत्कृष्ट उदाहरण हो। उनले आफ्नो दौड सुरु गरेको ३ सेकेन्डभित्रै बल जालीमा पुगिसकेको थियो। मेस्सीलाई चम्किन मात्र ३ सेकेन्ड काफी छ।
टोलीको त्याग र मेस्सीका ‘बडीगार्ड’
मेस्सीको यो ‘हिँड्ने’ रणनीति तब मात्र सफल हुन्छ, जब बाँकी ९ जना साथीहरू मैदानमा संघर्ष गर्न तयार हुन्छन्।
अर्जेन्टिनी टोली मेस्सीका लागि त्याग गर्न सधैँ तयार देखिन्छ। मेस्सीले आराम गरिरहँदा डिफेन्सको अतिरिक्त जिम्मेवारी मिडफिल्डरहरूले सम्हाल्छन्।

विशेषगरी रोड्रिगो डे पललाई मेस्सीको ‘बडीगार्ड’ नै मानिन्छ। मेस्सीले हिँडेरै ६४ प्रतिशत समय बिताउँदा डे पल भने मैदानमा मेस्सीको भागको दौड पनि आफैँ दौडिन्छन्।
एलेक्सिस म्याक एलिस्टर र इन्जो फर्नान्डेज जस्ता युवा मिडफिल्डरहरूले झण्डै ५० हजार मिटर दुरी पार गरेर मेस्सीलाई आक्रमणका लागि शक्ति बचाउन मद्दत गरिरहेका छन्।
यद्यपि, सधैँ मेस्सी हिँडेर मात्र बस्दैनन्। इजिप्ट विरुद्धको अन्तिम १६ को खेलमा जब अर्जेन्टिना २-० ले पछि पर्यो, तब मेस्सीमा १८ वर्षे किशोरको ऊर्जा देखियो। खेलको अन्तिम २० मिनेट उनी कुनै भुत चढेको मान्छे झैँ मैदानभरि कुदे।
त्यो खेलमा उनले जम्मा ९ पटक विपक्षीलाई ड्रिब्लिङ गरेर पछि पारेका थिए। खेल जिताएपछि उनी मैदानमै रोए। यसले के देखाउँछ भने मेस्सी अझै पनि दौडिन सक्छन्, तर उनी आफ्नो शरीरलाई सही समयका लागि मात्र प्रयोग गर्छन्।
५ खेलमा ८ गोल र १ असिस्ट- ३९ वर्षको उमेरमा यो अविश्वसनीय रेकर्ड हो। फुटबल खुट्टाले मात्र होइन, दिमागले खेलिन्छ भन्ने तथ्यलाई मेस्सीले एकपटक फेरि प्रमाणित गरिदिएका छन्।
एजेन्सीको सहयोगमा
असार २७, २०८३ शनिबार १३:४२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।