स्पेनलाई हार्न बिर्साएका लुइस डी ला फुइन्टे

स्पेनलाई हार्न बिर्साएका लुइस डी ला फुइन्टे

एजेन्सी : विश्वकपको सेमिफाइनल प्रवेश गरेको स्पेनको सफलताको पछाडि एकजना व्यक्ति छन्- ६५ वर्षीय मुख्य प्रशिक्षक लुइस डी ला फुइन्टे।

अहिले स्पेनिस टोली एउटा दुर्लभ कीर्तिमानको नजिक छ। यदि स्पेनले यो विश्वकप जित्यो भने, यो विश्वकप र युरो कपको उपाधि एकैसाथ आफ्नो हातमा राख्ने इतिहासकै चौथो टोली बन्नेछ।

यसअघि सन् २०१० को स्पेन, २००० को फ्रान्स र १९७४ को पश्चिम जर्मनीले मात्र यो उपलब्धि हासिल गरेका थिए।

३५ खेलदेखि अपराजित यात्रा
सन् २०२३ को जनवरीमा कार्यभार सम्हाले यता फुइन्टेले स्पेनिस टोलीलाई अविश्वसनीय मोडमा पुर्याएका छन्।

उनको नेतृत्वमा स्पेनले मात्र ३ खेल हारेको छ भने पछिल्ला ३५ खेलदेखि टोली अपराजित छ। दुई वर्षअघि स्पेनलाई युरो कप जिताएका उनी अहिले विश्वकपको फाइनलतर्फ अघि बढिरहेका छन्।

फुइन्टेको एउटा सरल मान्यता छ- फुटबल एउटा सामूहिक खेल हो, जुन ‘राम्रा मान्छे’हरूले मिलेर खेल्छन्। यहाँ ‘राम्रो’ भन्नाले नैतिक रूपमा मात्र नभई फुटबलको मैदानमा सहयोगी, अनुशासित, निस्वार्थी र टोलीका लागि त्याग गर्न तयार हुने खेलाडी बुझिन्छ।

उनी भन्छन्, ‘ड्रेसिङ रुममा बस्ने हामीलाई थाहा छ, असल मान्छे हुनुको अर्थ के हो। धेरै प्रतिभावान भएर पनि यदि कुनै खेलाडीले टोलीको एकता बिगार्छ र आफूलाई मात्र प्राथमिकता दिन्छ भने त्यस्तो टोली टाढासम्म जान सक्दैन।’

विरासतलाई नयाँ रङ्ग
स्पेनको पहिचान सधैं ‘बल पोजेसन’ र पासिङ गेममा आधारित छ। फुइन्टेले यो पुरानो विरासतलाई भत्काएनन्, बरु अझ निखारेका छन्।

पेप ग्वार्डिओलाको शैलीमा भन्नुपर्दा, ‘उनले क्याथेड्रल बनाएका होइनन्, बरु पुरानो क्याथेड्रलमा समय-समयमा नयाँ रङ्ग भरेका छन्।"

उनले स्पेनको खेलमा विविधता थपेका छन्। अहिलेको स्पेनिस टोली बल नियन्त्रणमा मात्र सीमित छैन, विपक्षीले सानो गल्ती गर्दा पनि तुरुन्तै काउन्टर अट्याक गर्न र गोल निकाल्न माहिर छ।

लामिने यमाल र ओयार्जाबालको व्यवस्थापन
विश्वकै ध्यान तानिरहेका १८ वर्षीय स्टार लामिने यमाललाई सम्हाल्नु फुइन्टेका लागि चुनौतीपूर्ण कार्य हो।

यमाललाई दबाबबाट मुक्त राख्न उनी निकै धैर्यवान देखिन्छन्। यमालले मैदानमा जादु देखाउनु मात्र ठूलो कुरा होइन, टोलीका लागि रक्षात्मक भूमिकामा पनि उत्तिकै खटिनु पर्छ भन्ने फुइन्टेको प्रशिक्षण छ।

त्यस्तै, उनी मिकेल ओयार्जाबाललाई विश्वकै उत्कृष्ट पाँच स्ट्राइकरमध्ये एक मान्छन्। ओयार्जाबाल जस्ता ओझेलमा परेका तर प्रतिभाशाली खेलाडीहरूलाई विश्वास दिलाउनु नै उनको सफलताको कडी हो।

अनुशासनको पर्याय
फुइन्टे आफैँ पनि निकै अनुशासित जीवन बिताउँछन्। उनी दैनिक शारीरिक व्यायाम गर्छन् र फिट रहन्छन्। उनी भन्छन्, ‘निरन्तरता नै सबैभन्दा ठूलो कुरा हो। जब म केही गर्ने संकल्प गर्छु, म त्यसमा नथाकी लागिरहन्छु।’

उनको यही अटुट विश्वास र ‘टिम वर्क’को दर्शनले आज स्पेनलाई विश्व फुटबलकै सबैभन्दा कठिन प्रतिद्वन्द्वी बनाएको छ। विपक्षी प्रशिक्षकहरू भन्छन्- ‘स्पेनको खेलको विश्लेषण गर्न त सजिलो छ, तर उसलाई मैदानमा हराउन असम्भव जस्तै छ।’

सम्बन्धित समाचार:

असार २७, २०८३ शनिबार ०८:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।