न एमबाप्पे टिके, न मेस्सी : ‘स्टटर’ शैली बन्यो ‘आत्मघाती’, ६० वर्षयताकै धेरै पेनाल्टी मिस हुने विश्वकपको नयाँ रेकर्ड!

न एमबाप्पे टिके, न मेस्सी : ‘स्टटर’ शैली बन्यो ‘आत्मघाती’, ६० वर्षयताकै धेरै पेनाल्टी मिस हुने विश्वकपको नयाँ रेकर्ड!

एजेन्सी : फ्रान्स विश्वकपको सेमिफाइनलमा त पुग्यो, तर मोरक्कोविरुद्धको खेलमा कप्तान केलियन एमबाप्पेले पेनाल्टी चुकाएपछि फुटबल जगतमा एउटा नयाँ बहस समेत सुरू भयो- के रोकिँदै-चल्दै (स्टटर) पेनाल्टी हान्ने शैली अब जोखिमपूर्ण बन्दै गएको हो?

मोरक्कोविरुद्धको क्वाटरफाइनलमा एमबाप्पेले ‘स्टटर’ शैली (दौडिँदा दौडिँदै बीचमा खुट्टाको गति रोक्ने वा छल्ने) अपनाएका थिए। तर, उनको फितलो प्रहारलाई मोरक्कन गोलकिपर यासिन बोनोले सहजै बचाए।

यद्यपि, एमबाप्पेले पछि खेलमै गोल गरेर फ्रान्सलाई २-० को जित दिलाए, तर उनको त्यो पेनाल्टी मिसले आधुनिक फुटबलको यो शैलीमाथि प्रश्न भने उठाएको छ।

के भन्छ तथ्याङ्क?
यो विश्वकपमा पेनाल्टीको तथ्याङ्क निकै रोचक र केही हदसम्म चिन्ताजनक पनि छ।

यस विश्वकपमा (सुटआउटसहित) २६ पटक रोकिँदै-चल्दै स्टटर शैलीमा पेनाल्टी हानियो, जसमा ११ पटक खेलाडीहरू चुके। यसको सफलता दर मात्र ५७ प्रतिशत छ। तर, नरोकिईकन सिधै प्रहार गरिएका ३५ पेनाल्टीमध्ये २४ गोल भए। यसको सफलता दर ६८ प्रतिशत छ।

गोलकिपरलाई अलमल्याउन प्रयोग गरिने ‘स्टटर’ शैली अहिले उल्टै प्रहार गर्ने खेलाडीका लागि घातक बनिरहेको तथ्याङ्कले समेत स्पष्ट पारेको छ।

गोलकिपरहरू चलाख बनेका हुन्?
पूर्व खेलाडी र विश्लेषकहरूका अनुसार अहिलेका गोलकिपरहरू पहिलेको तुलनामा बढी एथलेटिक र तथ्याङ्कमा आधारित भएका छन्। उनीहरूलाई कुन खेलाडीले कसरी पेनाल्टी हान्छ भन्ने पहिल्यै थाहा हुन्छ।

स्कटल्यान्डका पूर्व विङ्गर प्याट नेभिन भन्छन्, ‘गोलकिपरहरू अहिले धेरै चलाख भइसके, उनीहरूले स्टटर शैलीलाई पक्रन थालिसकेका छन्।’

एमबाप्पेले फ्रान्सका लागि लिएका १६ पेनाल्टीमध्ये यो मात्र दोस्रो मिस हो। उनको मिसमा ‘भिडियो असिस्टेन्ट रेफ्री’को पनि भूमिका रहेको मानिएको छ। पेनाल्टी दिने निर्णय र प्रहार गर्ने समयबीच ३ मिनेट १२ सेकेन्डको अन्तर थियो।

आयरल्यान्डका पूर्व मिडफिल्डर रोय किन भन्छन्, ‘खेलाडीले ३ मिनेटभन्दा बढी कुर्नु अन्यायपूर्ण हो। समय स्ट्राइकरको सत्रु हो। जति ढिला भयो, उति नै मानसिक दबाब बढ्छ र गोलकिपरलाई फाइदा पुग्छ।’

अर्का विश्लेषक इयान राइटका अनुसार, ‘धेरै समय कुर्नुपर्दा खेलाडीले आफ्नो योजनामा शंका गर्न थाल्छ, जसले गर्दा प्रहार कमजोर हुन पुग्छ।’

यस पटकको विश्वकप पेनाल्टीका लागि इतिहासकै कठिन सावित भइरहेको छ। सन् १९६६ यताकै रेकर्ड हेर्दा यो विश्वकपमा पेनाल्टी मिस हुने दर ३५ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

असार २६, २०८३ शुक्रबार ०८:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।