पेनाल्टी मिसको गल्ती सुधार्दै एमबाप्पेको सनसनीपूर्ण गोल, मोरक्कोलाई घर फर्काउँदै फ्रान्स सेमिफाइनलमा
एजेन्सी : केलियन एमबाप्पेले पेनाल्टी चुकाउँदाको पीडालाई बिर्सिएर उत्कृष्ट गोल र असिस्ट गरेपछि साविक उपविजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति बोस्टन स्टेडियममा भएको रोमाञ्चक क्वाटरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको २५औं मिनेटमा मोरक्कोका डिफेन्डर नउसेर मजराउईले पेनाल्टी क्षेत्रभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले सुनौलो अवसर पाएको थियो।
भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को लामो जाँचपछि लिइएको उक्त पेनाल्टीलाई मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै एमबाप्पेलाई निराश पारेका थिए।
तर, ६०औं मिनेटमा एमबाप्पेले आफ्नो गल्ती सुधार्दै उत्कृष्ट पुनरागमन गरे। पेनाल्टी क्षेत्रको ठीक भित्रबाट उनले प्रहार गरेको ‘कर्लिङ’ बलले जाली चुमेपछि फ्रान्सले १-० को अग्रता लियो।
त्यसको ६ मिनेट नबित्दै ओसमान डेम्बेलेले एमबाप्पेकै पासमा गोल थपेर फ्रान्सको जित सुनिश्चित गरे।

मेसीसँगको प्रतिस्पर्धा रोचक
यो गोलसँगै एमबाप्पेले यसै विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ८ पुर्याएका छन्। उनी अहिले अर्जेन्टिनाका लियोनेल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा बराबरीमा छन्।
यद्यपि, असिस्ट संख्या बढी भएकाले एमबाप्पे ‘गोल्डेन बुट’को दौडमा शीर्ष स्थानमा छन्।
यति मात्र होइन, ३९ वर्षीय मेसीको २१ विश्वकप गोलको कीर्तिमानलाई २७ वर्षीय एमबाप्पेले पछ्याइरहेका छन्। एमबाप्पेको कुल विश्वकप गोल संख्या २० पुगेको छ।
सन् २०२२ को सेमिफाइनलको झल्को दिने यस खेलमा मोरक्को निकै दबाबमा देखियो।
रक्षात्मक खेलमा माहिर मानिने मोरक्कोले ८३औं मिनेटमा मात्र पोस्टमा पहिलो प्रहार गर्न सकेको थियो। फ्रान्सको आक्रामक खेलअघि मोरक्कन खेलाडीहरू निरीह देखिए।

एमबाप्पेको चोटको चिन्ता
खेलको ७७औं मिनेटमा एमबाप्पेलाई मैदानबाट बाहिर निकालिँदा फ्रान्सेली समर्थकमा केही चिन्ता देखिएको थियो।
उनको दाहिने गोलीगाँठामा बरफ लगाइएको देखिए पनि खेलपछि उनले टोलीसँगै खुसी मनाएको देख्दा चोट गम्भीर नरहेको अनुमान गरिएको छ।
विश्वकपको दाबेदार मानिएको फ्रान्सले अब सेमिफाइनलमा स्पेन वा बेल्जियमसँग डलासमा प्रतिस्पर्धा गर्नेछ। ६ खेलमा १६ गोल गरिसकेको फ्रान्सलाई अहिलेको फर्मका आधारमा उपाधिको प्रमुख दाबेदार मानिएको छ।
यसअघि सन् १९९८ र २०१८ को विजेता फ्रान्स लगातार दोस्रो पटक र समग्रमा चौथो पटक फाइनल पुग्ने लक्ष्यमा छ।

असार २६, २०८३ शुक्रबार ०७:२४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।