ट्रेनिङ मैदानको विषयलाई लिएर फिफा र बेल्जियम फुटबलबीच विवाद
एजेन्सी : विश्वकप फुटबलको क्वाटरफाइनलअघि बेल्जियम र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको सम्बन्ध थप चिसिएको छ।
अमेरिकाविरुद्धको खेलमा फोलारिन बालोगनको प्रतिबन्ध फिफाले फुकुवा गरेपछि सुरु भएको विवाद अहिले ट्रेनिङ मैदानको विषयसम्म पुगेको छ।
स्पेनविरुद्धको महत्वपूर्ण क्वाटरफाइनल खेलअघि बेल्जियमले लस एन्जलसस्थित ‘लोयोला मेरीमाउन्ट युनिभर्सिटी’को ट्रेनिङ मैदानको गुणस्तरमा आपत्ति जनाएको छ।
बेल्जियम फुटबल संघका अनुसार उक्त मैदानको सतह खेल्न योग्य र न्यूनतम मापदण्ड अनुसारको छैन।
बेल्जियमले उक्त मैदानमा अभ्यास गर्न अस्वीकार गर्दै ‘एलए ग्यालेक्सी’को सुविधासम्पन्न मैदान प्रयोग गर्न पाउनुपर्ने माग फिफासँग राखेको छ। बेल्जियमले फिफाको निर्णय कुरिरहेको र चाँडै नयाँ स्थानमा अभ्यास गर्ने बताएको छ।
यसअघि प्रि-क्वाटरफाइनलमा अमेरिकाका स्ट्राइकर फोलारिन बालोगनलाई लागेको एक खेलको प्रतिबन्ध फिफाले हठात् खारेज गरेपछि बेल्जियम रुष्ट बनेको थियो।
बोस्निया-हर्जगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका बालोगनले बेल्जियमविरुद्ध खेल्न नपाउनुपर्ने थियो।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर उक्त निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले बालोगनको प्रतिबन्ध १२ महिनाका लागि स्थगित गरिदिएको थियो।
राजनीतिक हस्तक्षेपका आधारमा फिफाले नियम मिचेको भन्दै बेल्जियमले कडा विरोध जनाएको थियो।
फिफाको उक्त विवादास्पद निर्णयका बाबजुद बेल्जियमले अमेरिकालाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो।
खेलका क्रममा बेल्जियमका खेलाडीले रोमेलु लुकाकुको गोलपछि डोनाल्ड ट्रम्पको ‘ट्रेडमार्क डान्स’ गरेर फिफा र ट्रम्प दुवैको खिल्ली उडाएका थिए।
फिफाको यो कदमलाई लिएर फुटबल जगतमा ठूलो आलोचना भइरहेको छ। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफाको निर्णयलाई ‘अप्रिल फूल’को संज्ञा दिएका थिए।
युरोपेली फुटबल महासंघ र केही युरोपेली सांसदहरूले पनि फिफाको तटस्थतामाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका छन्।
बेल्जियमले शुक्रबार लस एन्जलसको ‘सोफाई स्टेडियम’मा स्पेनको सामना गर्दैछ। तर, खेलअघि मैदान र व्यवस्थापनलाई लिएर भइरहेका यी विवादले बेल्जियमको तयारीमा केही अवरोध पुर्याएको छ।
असार २५, २०८३ बिहीबार ०७:२६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।