हारपछि रेफ्रीमाथि खनिए इजिप्टका अधिकारी, अर्जेन्टिनाको अन्तिम गोल अगाडि मोहम्मद सलहमाथि फल भएको थियो?
एजेन्सी : विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग हारे लगत्तै प्रतियोगिताबाट इजिप्ट बाहिरिएपछि इजिप्टियन फुटबल एसोसिएसन (इएफए) ले उक्त खेल खेलाउने रेफ्रीहरूलाई प्रतियोगिताबाट निष्कासन गर्न फिफासँग माग गरेको छ।
इएफएले फिफासमक्ष उजुरी दर्ता गराएको र एटलान्टामा भएको उक्त खेलमा रेफ्रीहरूले देखाएको दोहोरो मापदण्डबारे छानबिन गर्न माग गरेको छ। खेलो दोस्रो हाफमा इजिप्ट १–० ले अगाडि रहेको बेलामा मुस्ताफा जिकोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले बदर गरिदिएको विषयमा विवाद बढिरहेको छ।
गोल हुनुअघि मुभको सुरुवातमा इजिप्टका मिडफिल्डर मारवान अतियाले लिसान्ड्रो मार्टिनेजको खुट्टामा कुल्चेको भन्दै फल दिइएको थियो। अर्जेन्टिनाले थप गरिएको समयमा गोल गर्दै ३–२ को जित निकाल्नुभन्दा केही सेकेन्ड अघि मात्रै अर्जेन्टिनाको पेनाल्टी एरियामा मोहम्मद सलहमाथि फल भएको तर रेफ्रीले नदिएको भन्दै इजिप्ट अफिसियल र समर्थकहरूले विरोध गरिरहेका छन्।
यसै सन्दर्भमा इएफएले जारी गरेको विज्ञप्तिमा इजिप्टियन फुटबल महासंघका अध्यक्ष हानी अबु रिदाले फिफासमक्ष उजुरी दर्ता गराउँदै फ्रान्सेली रेफ्री फ्रान्स्वा लेतेक्सियरमाथि छानबिनको माग गरेको उल्लेख छ। रेफ्री टोलीले गरेका गम्भीर गल्तीहरू र दोहोरो मापदण्डका कारण इजिप्टको टोलीले खेल हार्नुका साथै विश्वकपबाटै बाहिरिनु परेको दाबी गरिएको छ।
इएफएले रेफ्री टोली र भिडियो प्रविधि रेफ्रीहरूमाथि छानबिनको माग गरेको छ। उनीहरूले जानीजानी गम्भीर गल्तीहरू गरेको र केही फुटेजहरू समीक्षा गर्न आनाकानी गरेको इजिप्टको आरोप छ।
विज्ञप्तिमा यी गल्तीहरूको छानबिन गरी मुख्य रेफ्री र सम्पूर्ण रेफ्री टोलीलाई नै विश्वकपबाट निष्कासन गर्न माग गरिएको छ। उसले इजिप्टको राष्ट्रिय टोलीविरुद्ध विभेदको अपराध भएको आरोप समेत लगाइएको छ।
मंगलबार बेलुकाको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ७९ औँ मिनेटमा टोलीको पहिलो गोलका लागि अवसर सिर्जना गरिदिएका थिए भने ८३ औँ मिनेटमा आफैँले बराबरी गोल फर्काएका थिए। अन्तिममा एक गोल थप्दा अर्जेन्टिना विजयी भयो।
खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले इजिप्टमाथि अन्यायपूर्ण व्यवहार भएको र अन्याय भोग्नुपरेको बताएका थिए।
"शायद उनीहरू विश्व विजेता (अर्जेन्टिना) लाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। शायद उनीहरू मेस्सीलाई उपाधि होडमा राखिरहन चाहन्थे," उनले भने।
अर्जेन्टिनाले शनिवार कान्सास सिटीमा स्विट्जरल्यान्डको सामना गर्नेछ (नेपाली समय अनुसार आइतबार बिहान ०६:४५ बजे)।
असार २४, २०८३ बुधबार २१:३०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।