इंग्ल्याण्डविरुद्ध ७६ रनमा अलआउट भारत, टि-२० इतिहासकै सबैभन्दा ठूलो हार

इंग्ल्याण्डविरुद्ध ७६ रनमा अलआउट भारत, टि-२० इतिहासकै सबैभन्दा ठूलो हार

एजेन्सी : ट्रेन्ट ब्रिजमा खेलिएको तेस्रो टि-२० अन्तर्राष्ट्रिय खेलमा भारतीय टोलीको प्रदर्शन निकै निराशाजनक रह्यो।

इंग्ल्याण्डले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय ब्याटिङ पूर्ण रूपमा धराशायी हुँदा भारत १२५ रनको ऐतिहासिक अन्तरले पराजित हुन पुग्यो। यो हारसँगै पाँच खेलको शृङ्खलामा इंग्ल्याण्डले २-० को अग्रता बनाएको छ।

यस खेलमा भारतीय ब्याटिङको पुरानो कमजोरी फेरि एकपटक उदाङ्गियो। इंग्ल्याण्डका तीव्र गतिका बलरद्वय जोफ्रा आर्चर र जोस टङ्गको बाउन्सरसामु भारतीय ब्याटरहरू निरीह देखिए।

अभिषेक शर्मा, इशान किशन र श्रेयस अय्यर जस्ता खेलाडीहरू खराब सट प्रहार गर्दै सस्तैमा आउट भए। १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले दुईवटा छक्का प्रहार गर्दै केही आशा देखाए पनि उनी पनि आर्चरको बाउन्सरमा १३ रनमै आउट भए।

पावरप्लेमा ५२ रन जोड्दा ५ विकेट गुमाउनु भारतको टि-२० इतिहासकै खराब प्रदर्शनमध्ये एक हो। अन्ततः टोली ११.४ ओभरमा मात्र ७६ रनमा अलआउट भयो।

यो भारतको टि-२० क्रिकेट इतिहासकै दोस्रो न्यून योगफल हुनुका साथै बलको हिसाबले सबैभन्दा छोटो इनिङ्स (जम्मा ७० बल) समेत हो। १२५ रनको यो पराजय रनका आधारमा भारतको अहिलेसम्मकै ठूलो हार हो।

फिल्डिङ र बलिङमा पनि अनुशासनहीनता
टस जितेर पहिले बलिङ रोजेको भारतले इंग्ल्याण्डलाई सुरुवातमा दबाबमा राख्ने केही अवसर पाएको थियो।

११ ओभरमा १११ रन बनाउँदा इंग्ल्याण्डका ४ विकेट झरिसकेका थिए। तर, भारतीय बलरहरूले कसिलो बलिङ जारी राख्न सकेनन् भने फिल्डरहरूले पनि उत्तिकै निराशाजनक प्रदर्शन गरे।

विशेष गरी शिवम दुबेका लागि मैदानमा फिल्डिङ निकै बिर्सनलायक रह्यो।

भारतीय टोलीको यसै कमजोरीको फाइदा उठाउँदै इंग्ल्याण्डका फिल साल्टले ७० रन र साम करनले २४ बलमा अविजित ४१ रन बनाउँदै टोलीलाई २०१ रनको बलियो योगफलसम्म पुर्याए।

इंग्ल्याण्डका लागि जोस टङ्गले ४ र जोफ्रा आर्चरले ३ विकेट लिए। शृङ्खला बचाउनका लागि भारतले आगामी बिहीबार ब्रिस्टोलमा हुने चौथो खेलमा आफ्नो ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ।

असार २४, २०८३ बुधबार ०९:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।