सेलिब्रेसनका क्रममा घाइते भएका जोर्डनको शल्यक्रिया गरिने, इंग्ल्याण्डका खेलाडीका लागि नयाँ निर्देशन

सेलिब्रेसनका क्रममा घाइते भएका जोर्डनको शल्यक्रिया गरिने, इंग्ल्याण्डका खेलाडीका लागि नयाँ निर्देशन

एजेन्सी : मेक्सिकोविरुद्धको रोमाञ्चक जितपछि खुसीयाली मनाउने क्रममा घाइते भएका इंग्ल्याण्डका मिडफिल्डर जोर्डन हेन्डरसनको हातको नाडीको शल्यक्रिया गरिने भएको छ। यो दुर्घटनासँगै उनले विश्वकपका बाँकी खेलहरू गुमाउने सम्भावना बढेको छ।

अज्तेका स्टेडियममा इंग्ल्याण्डले ३-२ को जित निकालेपछि खुसीयाली मनाउने क्रममा ३६ वर्षीय हेन्डरसन मैदानको छेउमा रहेको विज्ञापन बोर्ड नाघेर समर्थकहरूतर्फ जान खोजेका थिए।

सोही क्रममा उनी सन्तुलन गुमाएर हातको बलमा खसेका थिए। चोट लागेपछि उनलाई मैदानबाट स्ट्रचेरमा राखेर बाहिर लगिएको थियो।

यस दुर्घटनापछि इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले आफ्ना खेलाडीहरूलाई आगामी दिनमा उत्सव मनाउँदा विज्ञापन बोर्ड ननाघ्न निर्देशन दिने तयारी गरेका छन्।

खेलपछि बीबीसीसँग कुरा गर्दै प्रशिक्षक टुचेलले भने, ‘जोर्डन लडेर हातमा चोट लाग्न पुग्यो। चोट निकै गम्भीर देखिएको छ। यस्तो सुखद साँझमा जोर्डन हाम्रो साथमा नहुनु निकै दुःखद कुरा हो। डाक्टरहरूका अनुसार उनी अहिले अस्पतालमा छन्।’

ब्रेन्टफोर्डका मिडफिल्डर हेन्डरसन अहिले इंग्ल्याण्डको मेडिकल टोलीका एक सदस्यका साथ मेक्सिको सिटीको अस्पतालमै उपचाररत छन्। चोटका कारण उनी टोलीसँगै क्यान्सास सिटीस्थित अभ्यासमा समेत जान सकेका छैनन्।

असार २४, २०८३ बुधबार ०९:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।