अर्जेन्टिना र केप भर्डको खेलमा इन्फ्लुएन्सर ‘आईसोस्पिड’माथि रङ्गभेदी दुर्व्यवहार, फिफाले थाल्यो अनुसन्धान
एजेन्सी : अमेरिकी सोसियल मिडिया इन्फ्लुएन्सर ‘आईसोस्पिड’माथि रंगशालामा भएको भनिएको रङ्गभेदी दुर्व्यवहारबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुसन्धान थालेको छ।
गएको शुक्रबार मियामीको ‘हार्ड रक स्टेडियम’मा अर्जेन्टिना र केप भर्डबीच भएको खेलका क्रममा यो घटना भएको थियो। उक्त खेलमा अर्जेन्टिना ३-२ ले विजयी भएको थियो।
खेलका क्रममा केप भर्डको जर्सी लगाएका आईसोस्पिड र रंगशालामा उपस्थित एक अर्जेन्टिनी समर्थकबीच भनाभन भएको ईएसपीएन जनाएको छ।
सोही क्रममा एक अर्जेन्टिनी समर्थकले उनीमाथि रङ्गभेदी दुर्व्यवहार गरेको आरोप छ। यस घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि फिफाले तुरुन्तै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
फिफाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘फिफा विश्वकप एकता, विविधता र सम्मानको उत्सव हो। यसले विश्वभरका मानिस, संस्कृति र समुदायलाई एक ठाउँमा ल्याउँछ। यी मूल्य मान्यताहरूलाई चोट पुर्याउने खालका व्यवहार गर्ने जोकोहीलाई पनि फुटबल खेलमा स्थान दिइने छैन।’
को हुन् आईसोस्पिड?
२१ वर्षीय अमेरिकी युट्युब स्टार आईसोस्पिड (वास्तविक नाम: ड्यारेन जेसन वाटकिन्स जुनियर) सामाजिक सञ्जालमा निकै लोकप्रिय छन्।
युट्युबमाका उनका ५ करोड ७० लाखभन्दा बढी सब्सक्राइबर र टिकटकमा ५ करोड ३० लाखभन्दा बढी फलोअर्स छन्। उनी यस विश्वकपका खेलहरूमा रंगशालाबाटै लाइभ-स्ट्रिम आइरहेका छन्।
कतिपय लाइभमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र चर्चित फुटबल खेलाडी ज्लाटन इब्राहिमोभिच पनि उनीसँगै देखिएका थिए।
विश्वकपमा रङ्गभेदको अर्को विवाद
आईसोस्पिडमाथि भएको यो दुर्व्यवहारको घटना फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पे र पराग्वेकी एक सिनेटरबीचको विवाद भएको केही दिनमै सार्वजनिक भएको हो।
पराग्वेकी सिनेटर सेलेस्टे अमारेलाले फ्रान्ससँग पराग्वे पराजित भएपछि एम्बाप्पेको पृष्ठभूमि र शिक्षालाई लेकर रङ्गभेदी टिप्पणी गरेकी थिइन्। एम्बाप्पेले ती सिनेटरको टिप्पणीलाई ‘घृणास्पद’ भन्दै कडा आलोचना गरेका थिए।
फ्रान्सेली फुटबल महासंघले पनि ती सिनेटरका भनाइहरू घृणित भएको भन्दै उनीविरुद्ध कानुनी कारबाही अगाडि बढाउने घोषणा गरिसकेको छ।
असार २४, २०८३ बुधबार ०९:१७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।